भोटेकोशी बाढीको नामकरण गर्दै सरकार

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययनसँगै घटनाको उपयुक्त नामकरण गर्ने प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको उत्पत्ति, घटनाक्रम र त्यससँग जोडिएका हिमाली भू–जोखिमबारे अध्ययन गरी नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले वैज्ञानिक आधार र प्रमाण संकलन गरी बाढीको उपयुक्त नामसमेत टुंगो लगाउनेछ।

ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनका क्रममा विभिन्न नाम प्रस्तावित भएका छन्। आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार ‘ग्लेसियर रक एभलान्च’ (Glacier Rock Avalanche), ‘आइस रक एभलान्च/ल्यान्डस्लाइड’ (Ice Rock Avalanche/Landslide) र ‘रसुवा भोटेकोशी महाविपत्’ (Rasuwa Bhotekoshi Flood)लगायतका नाम छलफलमा आएका छन्।

‘यो विश्वमै दुर्लभ घटना हो। यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन। सबै वैज्ञानिक आधार र प्रमाण संकलन गरिसकेपछि उपयुक्त नामकरण गरिनेछ,’ बरालले भने।

मन्त्रालयले वैज्ञानिक आधार र प्रमाण संकलन गर्न बुधबार जलनीति तथा सुशासनविज्ञ देवेश बेलवासेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधारविज्ञ डा. हरि पण्डित र विपत् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

समितिले बाढीको उद्गमस्थलदेखि सम्पूर्ण तटीय क्षेत्रसम्म पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। अध्ययनमा बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम, घटनाक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक विश्लेषण गरिनेछ।

प्रवक्ता शाक्यका अनुसार रसुवाको विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिम क्रमशः जोडिँदै विकसित भएको सम्भावित ‘शृंखलाबद्ध विपत्’ का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावपछि मन्त्रालयले वैज्ञानिक अध्ययन अघि बढाएको हो।

यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले घटनाको प्रारम्भिक अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनले रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपत् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन बाँकी रहेको देखाएको थियो।

केन्द्रले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव दिएको थियो।

अब समग्र रूपमा भूगर्भ, तापक्रम, पानी तथा हिमनदीय प्रणालीको अध्ययन गरिने मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढीका कारण त्रिशूली करिडोरमा ठुलो प्रभाव परेको र यस्ता विपत् अन्य नदी प्रणालीमा समेत आउन सक्ने भएकाले ऊर्जा पूर्वाधारमा पर्ने जोखिम पहिचान गर्न अध्ययन अघि बढाइएको प्रवक्ता शाक्यले बताए।

उनका अनुसार बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिक्दै दीर्घकालीन रूपमा विपत् पूर्वतयारी कसरी गर्ने र जलवायु परिवर्तन, बाढी, खडेरी तथा अन्य प्राकृतिक विपतसँग जुध्दै संकटका अवस्थामा समेत विद्युत् उत्पादन निरन्तर गर्न सक्ने जलविद्युत् उत्थानशीलता कसरी कायम गर्ने भन्ने विषयमा समेत अध्ययन गरिनेछ।

सुझावित समाचार