रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनाका व्यक्तिहरूमध्ये ६ जनाको शव फेला परेको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शवहरू टनेलबाट बाहिर निकालेको जनाएको छ।
टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृतिसमेत देखिएको छ। त्यस क्षेत्रमा पनि थप शव हुन सक्ने आशंकामा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। भदाै १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।