२०औँ एसियाली खेलकुद : महिला भलिबल समूह चरणमै सीमित

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण
  • एसियाडमा दोस्रोपटक सहभागी नेपाली महिला भलिबल टोली समूह ‘ए’मा जापान र इन्डोनेसियासँग समान ३–० को सेटमा पराजित 

२०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाली महिला भलिबल टोलीको यात्रा समूह चरणमै सीमित भएको छ । जापानको नागोया र आइचीमा सञ्चालित एसियाडअन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह ‘ए’मा नेपालले लगातार दुई हार सामना गर्‍यो । नेपाल बिहीबार भएको खेलमा इन्डोनेसियासँग ३–० ले पराजित भयो । यसअघि आयोजक जापानले नेपालमाथि ३–० को जित निकालेको छ ।

लगातार दोस्रो हारपछि समूह ‘ए’ मा रहेको नेपालको क्वार्टरफाइनल यात्रा समाप्त भएको छ । अब नेपालले नवौँदेखि १४औँ स्थानका लागि क्लासिफिकेसन म्याच खेल्नेछ । नेपालले क्वार्टरफाइनलका लागि स्थान बनाउन इन्डोनेसियालाई हराउनुपर्ने थियो । नेपालले इन्डोनेसियासँग २५–१२, २५–२१ र २५–२० ले खेल गुमाएको थियो । यसअघि जापानले नेपाललाई एकतर्फी खेलमा २५–८, २५–१२ र २५–११ ले हराएको थियो ।

आइचीको पार्क एरिना कोमाकीमा बिहीबार भएको खेलको कप्तानी निरुता ठगुन्नाले गरेकी थिइएन् । स्वर्ण पदक दाबेदार जापानसँग कमजोर प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेलमा इन्डोनेसियाविरुद्ध सुधारिएको खेल खेलेको थियो । स्वर्ण जित्ने तयारी गरेको इन्डोनेसियाले पहिलो सेट पहिलो सेट २५–१२ ले जित्यो । जगदीश भट्ट मुख्य प्रशिक्षक रहेको नेपालले दोस्रो सेटमा गतिलो प्रदर्शन गरेको थियो ।

यस सेटमा नेपाली खेलाडीले अन्तिम समयसम्म इन्डोनेसियालाई प्रतिस्पर्धामा राखेको थियो । तर, अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा नेपालले दोस्रो सेट २५–२१ ले गुमायो । लगातार नेपालमाथि दबाब बनाइरहेका इन्डोनेसियाली महिला खेलाडीले तेस्रो सेटमा आक्रामक रूपमा प्रतिस्पर्धा गरेका थिए । यद्यपि, नेपालले पनि विपक्षीलाई सहज अंक बटुल्न दिएन । इन्डोनेसियाले सुरुवातदेखिको अग्रता रक्षा गर्दै २५–२० ले खेल जित्यो । आयोजक जापान विश्व वरीयतामा छैटौँ स्थानमा छ । नेपाल ६९औँ र इन्डोनेसिया ५३औँ स्थानमा छन् ।

नेपाली महिला भलिबलको एसियाडमा दोस्रो सहभागिता हो । यसअघि २०२३ को एसियाडमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । दोस्रोपटकको सहभागितामा नेपाली टोलीमा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, सलिना श्रेष्ठ, प्रगति नाथ, सलिना बुढामगर, वसन्ती साउद, लक्ष्मी चन्द, रिमा कुँवर, सुनिता खत्री, आरती सुवेदी, मीना कुँवर र सुमित्रा रेग्मी रहेका छन् । तीन वर्षअघि पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

जापान र इन्डोनेसिया क्वार्टरफाइनलमा
समूह ‘ए’मा नेपाल, जापान र इन्डोनेसिया छन् । नेपालले लगातार दुई खेल गुमाएपछि घरेलु टोली जापान र इन्डोनेसिया एक खेलअगावै क्वार्टरफाइनल प्रवेश गरेका छन् । अब यी दुईबिच हुने खेल समूह विजेता बन्नका लागि हुनेछ । नेपालले आगामी खेलको प्रतिद्वन्द्वी अन्य खेलको नतिजाअनुसार पाउनेछ । अन्य समूहको खेल सकिएपछि नेपालको प्रतिद्वन्दीको टुंगो लाग्ने आयोजकले जनाएको छ । २०औँ एसियाडमा महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

शीर्ष र उपविजेता नकआउट चरणमा पुग्ने
यसैगरी, महिला बास्केटबलको पुल ‘बी’मा चीन, काजकस्तान र फिलिपिन्स रहेका छन् । पुल ‘सी’मा थाइल्यान्ड, चाइनिज ताइपेई, किर्जिस्तान र मंगोलियन छन् । यसैगरी, पुल ‘डी’मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार रहेको आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहबाट समान दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । तेस्रोपटक एसियाड खेल आयोजना गरेको जापानले २०औँ संस्करणको उद्घाटनअगाडि विभिन्न खेल सुरु गरेको छ । बास्केटल, फुटबल, भलिबल र मोडर्न पेन्टाथलनका खेल चलिरहेका छन् । बिहीबारदेखि महिला क्रिकेट र टेकबल पनि सुरु भएको आयोजकले जनाएको छ ।

महिला क्रिकेट : पाकिस्तान तीन विकेटले विजयी

एसियाडअन्तर्गत महिला क्रिकेटमा स्वर्ण पदक दाबेदार पाकिस्तानले थाइल्यान्डमाथि तीन विकेटको जित निकालेको छ । जितसँगै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । निसिन क्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले पहिलो ब्याटिङ गरी ११ ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको थियो । वर्षाका कारण खेल ११ ओभरमा घटाइएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १०.४ ओभरमा सात विकेटको क्षतिमा ९२ रन बनायो । पाकिस्तानले खेल सकिनु तीन बलअघि रोमाञ्चक जित हात पारेको हो ।

पाकिस्तानको जितमा गल फेरोजाले १३ बलमा १६ रन बनाइन् । ओपनर सवाल जुफिकरले १४ बलमा तीन चौका र एक छक्का प्रहार गरी सर्वाधिक २५ रनको योगदान दिइन् । मध्यक्रममा कप्तान फातिमा सानाले १३ बलमा तीन चौका र एक छक्काको सहयोगमा २१ रन बनाइन् । थाइल्यान्डले पाकिस्तानविरुद्ध एक रन पनि अतिरिक्त दिएन् । यसअघि ब्याटिङ गरेको थाइल्यान्डका लागि नानपा कोचाकेले ३९ बलमा सात चौकाको सहयोगमा ४९ रन बनाइन् । उनले सात चौका प्रहार गरिन् । यसैगरी मायाले १६ बलमा १५ रन जोडिन् । बलिङमा पाकिस्तानकी कप्तान फातिमाले २२ रन खर्चेर दुई विकेट लिइन् । यसैगरी महिलातर्फको क्रिकेटमा बंगलादेश र चीनबिचको खेल वर्षाका कारण रद्द भयो । दुवै राष्ट्रले समान १ अंक पाएका छन् । 

सुझावित समाचार