इन्द्रसरोवर दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सुकौरामा भएको यात्रुवाहक इभी दुर्घटनामा मृतक र घाइते सबैको पहिचान खुलेको छ ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्वकावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई रहेका छन् ।

यस्तै, पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर गाउँपालिका–३, लिप्निमालका ३२ वर्षीय सरफरोस मियाँको पनि दुर्घटनामा मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते हुनेमा बारा कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय इभीचालक अमिर अन्सारी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङतान रहेका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबियाकुमारी यादव मध्यम घाइते भएकी छिन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सडकबाट करिब एक हजार मिटर तल खसेको थियो ।

मकवानपुर प्रहरी प्रमुख श्याम खत्रीका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी मंगलबार दिउँसो इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको थियो ।

उनका अनुसार अनुसार इभीमा चालकसहित आठजना सवार थिए। दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। उद्धार गरिएका घाइतेलाई तत्काल उपचारका लागि पठाइएको र मृतकको शव हेटौँडा अस्पताल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार