सिराहाको गोलबजार नगरपालिका– १३, दुर्गापुरस्थित भित्री सडखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले मंगलबार बिहान ८ बजेतिर लक्ष्मी मन्दिरनजिकै ठक्कर दिँदा स्थानीय रामदयाल यादवका छोरा करिब सात वर्षीय आयनस यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिराहा प्रहरीका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि गोलबजारस्थित लाइफलङ हेल्थ केयर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
बालकको मृत्युपछि मोटरसाइकल गोलबजार प्रहरीमा ल्याएर फरार चालकको खोजी गरिरहेको सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए। बालकलाई ठक्कर दिने मोटरसाइकलचालककाे प्रहरीले खोजी गरिरहेको छ।