आर्या फार्माले स्वास्थ्य शिविर सञ्चालन गर्ने

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सक्रिय भूमिका निभाउँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्न चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ । बाढीपछि धेरै प्रभावित परिवार स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ भएको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर सेवा प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सहकार्यअनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविर विदुर नगरपालिका– ७ स्थित सलोचना स्कुल वडा नं ५ स्थित त्रिशूली विद्यालय तथा सोही वडाको भैरवडाँडामा सञ्चालन गर्ने बताइएको छ । 

शिविरमा स्थानीयवासीलाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगहरूको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने जनाइएको छ । थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्थासमेत मिलाइनेछ । कम्पनीले यसअघि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ८२ लाख रुपैयाँबराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो । 

सुझावित समाचार