नेकपा (एमाले)को चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को आलोचना भएको छ। शुक्रबार बैठकमा उनले एमाले नै नबुझेको भनेर नेताहरूले टिप्पणी गरेको स्रोत बताउँछ ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल बादलविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए । बैठकबाट महासचिवलाई प्रतिवेदन तयार पार्न लगाएर संयोजकले नै अर्को प्रतिवेदन ल्याएको भन्दै उनले आलोचना गरेका हुन्। पौडेलको भनाइ थियो, ‘तपाईंले पार्टी निर्णयको स्पिरिट नै बुझ्नुभएन, एमाले बुझ्नुभएन, एमालेको भाका टिप्न सक्नुभएन, लय, शैली र एमाले संस्कृति केही पनि बुझ्न सक्नुभएन, त्यसैले अलग प्रतिवेदनमा छलफल हुँदैन ।’ बादल माओवादी पृष्ठभूमिका नेता हुन्। साथै बैठकमा बादलले पनि महासचिव शंकर पोखरेलप्रति घोचपेच गरेको स्रोत बताउँछ।
बैठकमा बादल र शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए। बादलको प्रतिवेदनमा ओलीले नेतृत्व छाड्न नपर्ने उल्लेख छ भने पोखरेलको प्रतिवेदनमा पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव छ ।
शनिबार एकीकृत प्रतिवेदन बनाएर आवासीय रूपमा छलफल गर्ने गरी शुक्रबारको बैठक टुंगिएको छ । कार्यदलमा १५ नेता छन्।