कञ्चनपुरमा श्रीमान्–श्रीमतीबिच सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन्। सीमावर्ती तराईको सुगम जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढिरहेका हुन्। सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर प्रेम तथा धार्मिक परम्पराअनुरूप एक–आपसमा सम्बन्धमा बाँधिएका दम्पती सम्बन्धविच्छेद गरिरहेका छन्। जिल्ला अदालतको तथ्यांकअनुसार पछिल्ला नाै वर्षमा एक हजार नाै सयभन्दा बढी मुद्दा दर्ता मात्रै भएका छन्।
१ साउन ०७५ देखि २५ भदौ ०८३ सम्म नाै वर्षको अवधिमा एक हजार ९१० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन्। अदालतमा नआएरै पनि विवाहित जोडीहरूले सम्बन्धविच्छेद गर्दै आएका छन्। १ भदौ ०७५ देखि मुलुकी संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेद गर्नेहरूको संख्या ह्वात्तै बढेको छ।
नयाँ कानुन मुलुकी देवानी संहिता लागू भएदेखि यता धमाधम सम्बन्धविच्छेदका मुद्दा पर्न थालेका छन्। मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद– ३ मा सम्बन्धविच्छेदको व्यवस्था छ। दफा ९६ अनुसार सम्बन्धविच्छेद गर्न चाहने पति–पत्नीले अदालतमा निवेदन दिनुपर्ने व्यवस्था छ। अदालतले दुवैलाई सम्झाई एक वर्षसम्म सम्झाइबुझाई गर्नुपर्ने, त्यो नभए अंशबन्डा गरेर फैसला गर्नुपर्ने प्रावधान भएपछि सम्बन्धविच्छेद गर्ने दम्पतीहरू ह्वात्तै बढेका हुन्।
जिल्ला अदालत कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा १४८, ०७६७७ मा १२१, ०७७/७८ मा १८८, ०७८/७९ मा २२१, ०७९/८० मा २५१, ०८०/८१ मा २८१, ०८१/८२ मा २८९, ०८२/८३ मा ३६० र चालू आर्थिक वर्ष ०८३/८४ को २५ भदौसम्म ५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार जनकप्रसाद शर्माले विविध कारणबाट वैवाहिक सम्बन्धमा बाँधिएका दम्पतीले सम्बन्धविच्छेद गर्दै आएको बताए। उनका अनुसार बढ्दो आधुनिकीकरण, तडकभडक, नैतिकता, पारिवारिक माहोलमा बस्न नसक्नु, वैदेशिक रोजगारी, बेमेल, नैतिक शिक्षा र संस्कारको अभाव, आधुनिकता, आफ्नो परम्परा नमान्नु, लिभिङ टुगेदरमा बस्नु, पाश्चात्य संस्कृतिको विकास, देखासिकी, घरेलु हिंसा, परनिर्भरतालगायत कारणले सम्बन्धविच्छेदका घटनाहरू हुने गरेका छन्।
सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले अदालतमा दर्ता भएका कुल सम्बन्धविच्छेदका मुद्दा निरन्तर फैसला भइरहेको बताए। उनका अनुसार दर्ता भएका ८५ प्रतिशतभन्दा बढी मुद्दा फैसला भएका छन्। अधिकांश महिला पक्षबाट सम्बन्धविच्छेदका लागि आउने र पछिल्ला वर्षहरूमा पुरुषबाट समेत मुद्दा आउने गरेको उनले बताए।
कञ्चनपुरका युवा कानुन व्यवसायीसमेत रहेका अधिवक्ता मदनबहादुर कुँवरले नागरिकले कानुनी सुविधालाई समेत उपभोग गर्दा सम्बन्धविच्छेदका मुद्दाको संख्या बढ्दै गएको बताए। उनका अनुसार बेरोजगारीदेखि घरायसी, बालविवाहलगायत विविध कारणबाट सम्बन्धविच्छेदका मुद्दाहरू बढिरहेका छन्।
जनज्योति बहुमुखी क्याम्पस समाजशास्त्र विभागका पूर्वविभागीय प्रमुख प्राध्यापक वीरेन्द्रबहादुर साउदले अझै पनि जनचेतनाको अभावका कारण सम्बन्धविच्छेदको अवस्था सिर्जना हुने बताए।
पूर्वसहायक प्रमुखसमेत रहेका प्राध्यापक साउदका अनुसार सांस्कृतिक, पारिवारिक, संयमितता, एक–अर्काबिचको भावनाको कदर नहुनुलगायत विविध कारणबाट सम्बन्धविच्छेद हुन्छन्।
‘दुई फरक लिंगीय, संस्कृति र संस्कारबाट आएका व्यक्तिबिचको सन्तुलन अभाव हुन्छ,’ प्राध्यापक साउदले भने, ‘दुवैबिच सामीप्यता नहुँदाको परिणाम सम्बन्धविच्छेद हो।’
स्वतन्त्रताको अधिकतासँगै पनि यसले प्रश्रय पाएको उनको बुझाइ छ। भयावह रूपमा मिलेर बसेका दम्पतीबिचको सम्बन्धविच्छेद समाजका लागि दुःखद विषय भएको उनको टिप्पणी छ। जहाँसम्म समाजमा श्रीमान्–श्रीमती मिलेर बस्नु समुन्नत समाजको गहना भएको प्राध्यापक साउदको भनाइ छ।
कञ्चन विद्या मन्दिर कलेजका प्राध्यापकसमेत रहेका अधिवक्ता यज्ञराज जोशीले नयाँ कानुनले पुरुषलाई सम्बन्धविच्छेदका लागि सिधै अदालतमा निवेदन दिनुपर्ने व्यवस्था गरेसँगै पुरुषको संख्यामा वृद्धि भएको बताए।
‘मुलुकी ऐनमा पुरुषले स्थानीय तहमा निवेदन दिनुपर्थ्याे,’ अधिवक्ता जोशीले भने, ‘अहिले सिधै अदालतमा मुद्दा दिने व्यवस्था छ।’
स्थानीय तहलाई दिएको अधिकार कटौती गरेर अदालतलाई दिएको उनले बताए।
श्रीमान्–श्रीमतीको सम्बन्धविच्छेदका घटनाले उनीहरूबाट जन्मिएका स–साना शिशु तथा बालबालिकाको भविष्यमा चुनौती थपिदिएको छ।
महिला अधिकारकर्मी माया नेगीले उमेर पुगेका महिला–पुरुषबिच वैवाहिक सम्बन्ध भएर सँगै जीवन यात्रा गर्ने संकल्पलाई बिचबाटैमा तोडिने घटना दुःखद भएको बताइन्। उनले महिला वा पुरुष दुवैबाट हुने सम्बन्धविच्छेदका घटनाले कानुनी सुविधासँगै घरपरिवार, समाजदेखि बालबालिकाको भविष्य चौपट पार्ने काम भएको बताइन्।
उनले सम्बन्धविच्छेदका घटना सकेसम्म समाजमा कम हुनुपर्ने र श्रीमान्–श्रीमती मिलेर बस्नुपर्ने सुझाव दिएकी छिन्। स–साना विषयमा श्रीमान्–श्रीमतीबिच झै–झगडा गरेर सम्बन्धविच्छेद नै गरिहाल्नुपर्ने अवस्था टार्दै आपसी समझदारीअनुरूप अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।