चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य तीव्र पारिएको छ। उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युतगृहको दिशामा निरन्तर अघि बढिरहेको छ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवसमेत रहेका कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत उद्धार कार्यमा प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको बताएका छन्।
घिसिङका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब एक सय २० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। उक्त स्थानबाट चिसो हावासमेत आइरहेको भन्दै उनले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा थप बलियो भएको उल्लेख गरेका छन्।
उद्धार टोली अहिले लेदोको भाग छिचोल्दै अगाडि बढिरहेको छ। विद्युतगृह पुग्न करिब एक सय मिटर मात्र बाँकी रहेको जानकारी प्राप्त भएको घिसिङले बताएका छन्। उनले उद्धारका क्रममा प्राप्त भइरहेको प्रत्येक मिटरको प्रगति र हरेक संकेतले आशा जगाइरहेको बताएका छन्।
यसैबिच, स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटरलाई सुरुङसम्म पुर्याउन बाटो निर्माणको काम पनि तीव्र पारिएको छ। आजसम्ममा एक्स्काभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र एक्स्काभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ। घिसिङका अनुसार उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलगायतको टोली अहोरात्र खटिरहेको छ।
उनले उद्धारमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उद्धार कार्यमा संलग्न सम्पूर्ण टोली उच्च मनोबलका साथ निरन्तर खटिरहेको र उद्धार प्रयास सफल हुने विश्वास रहेको घिसिङले बताएका छन्।