राप्ती नदीस्थित सिधनियाघाट पुलको लम्बाइ नबढाए तटबन्ध निर्माण गर्न नदिने स्थानीयले चेतावनी दिएका छन् । सात सय मिटर पुल र ४४० मिटर तटबन्ध निर्माण गर्दा राप्तीसोनारी गाउँपालिका– ६, डुडुवा गाउँपालिकाको वडा नम्बर ४ तथा ५ डुबानमा पर्ने जोखिम बढेको भन्दै स्थानीयले एक हजार एक सय ४० मिटर पुल निर्माण गर्नुपर्ने अडान लिएका हुन् । अहिले सात सय मिटर लामो र ११ मिटर चौडा पुल निर्माण भइरहेको छ ।
राप्तीसोनारी गाउँपालिका– ६, फत्तेपुरका प्रदीपकुमार पौडेलले सरकारले थप ४४० मिटर थप नगरे तटबन्ध र सडक निर्माण गर्न नदिने बताए । उनले बस्तीलाई जोखिममा पारेर तटबन्ध निर्माण गरिए प्रतिकारमा उत्रिने चेतावनीसमेत दिए । ‘सात सय मिटर पुलले दीर्घकालीन समस्या समाधान गर्दैन । बस्तीलाई जोखिममा पारेर तटबन्ध निर्माण गरिए प्रतिकारमा उत्रिन्छौँ,’ उनले भने ।
सिधनियाघाटमा करिब २० वर्षअघि निर्माण भएको तीन सय मिटरको अर्को पुल पनि छ । त्यसको दुई सय मिटर दूरीमा ५० मिटरको अर्को पुल पनि छ । यी दुवै पुल छोटो र साँघुरो भएकाले अहिले सात सय मिटर लामो र ११ मिटर चौडाइ भएको अर्को पुल निर्माण भइरहेको छ । निर्माणाधीन पुलले समस्या झनै बल्झाउने फत्तेपुरका लालबहादुर थापाले बताए । उनले तटबन्धले सयौँ बिघा जमिन बन्जर हुने भएकाले पुलको लम्बाइ बढाउनुपर्ने जिकिर गरे । ‘तटबन्धले सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुग्ने देखिन्छ,’ उनले भने, ‘बेलैमा ध्यान दिइएन भने यसले भविष्यमा विकराल अवस्था जिर्सना गर्ने निश्चित छ ।’