बाढी प्रभावितलाई ख्रिस्टियन समाज भरतपुरको चार लाख ७२ हजार सहयोग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले महानगरीय ख्रिस्टियन समाज, भरतपुर, चितवनले चार लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ ।

समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । विपतबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले समाजले सहयोग अभियान सञ्चालन गरेको हो ।

महानगरीय ख्रिस्टियन समाजका अध्यक्ष पा. राजु परियार, कोषाध्यक्ष पा. रणबहादुर रानामगर र सचिव ए. सुमन लुंगेलीलगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको हो ।

सुझावित समाचार