नबिल बैंक लिमिटेडले आर्थिक वर्ष ०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस सेयरका लागि एक अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि दुई अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम छुट्याइएको छ। उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
त्यस्तै, बैंकले आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको आठ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष ०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने र रकममा करसमेत समावेश रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार अग्राधिकार सेयरतर्फ चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा साधारण सेयरतर्फ चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।
आर्थिक वर्ष ०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।
नबिल बैंकले देशभर २६३ शाखा र ३१५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले हाल ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा केन्द्रित रहेको जनाएको छ।