गत १६ भदौमा ठमेलमा एक युवतीमाथि दुव्र्यवहार भयो । सडकमा हिँडिरहेकी युवतीलाई विपरीत दिशाबाट आएका युवकले हातले नियतवश छुन्छन् । युवतीले किन त्यस्तो गरेको भन्दा उनी ठोक्किएको भनेर उल्टो आफू निर्दाेष रहेको दाबी गर्छन् ।
झगडा तत्कालका लागि त्यत्तिकैमा सकिन्छ । तर, युवतीलाई आफूमाथि भएको अन्यायले दुःखी बनाउँछ । उनी त्यो ठाउँमा रहेको सिसिक्यामेराको भिडियो लिएर आउँछिन् र परिचय नै दिएर सो घटना सामाजिक सञ्जालमा सार्वजनिक गर्दछिन् । सो भिडियो लाखौँमा पुगेपछि प्रहरीले पनि अनुसन्धान थाल्छ ।
तीन दिन लगाएर प्रहरीले निकै मिहिनेतपछि घटनामा संलग्न युवकलाई पक्राउ गर्दछ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार सर्लाहीको कविलासी– २ घर भई काठमाडौं बस्ने ३० वर्षीय सालिन साहलाई पक्राउ गरेको हो । पक्राउ गर्दा उनको हुलिया भने फेरिइसकेको हुन्छ । सिसिक्यामेरा फुटेजमा उनी लामो कपालमा देखिन्छन् । तर, प्रहरीलाई छल्न कपाल काटेर भाग्दै हिँडेका थिए । अन्ततः उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही अघि बढेको छ ।