राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्याग

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पाठकले कुनै पनि जिम्मेवारीमा नरहने गरी राप्रपा छाडेको जानकारी दिएका हुन्।

राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिअनुसार एकता भए पनि त्यस दिशामा ठोस परिणाममुखी काम नभएको भन्दै उनले राप्रपा छाडेका हुन्।

‘पार्टीको विचारधारा र व्यवहारबिच चरम विरोधाभास कायमै रह्यो। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो भन्नेजस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठुलो अभाव छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त संघर्ष झन् झाँगिएको पाठकको आरोप छ। ‘मलगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन,’ उनले भनेका छन्।

सुझावित समाचार