परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका समकक्षी (विदेशमन्त्री) छो ह्यनबिच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा दुवैतर्फबाट भदौ १० गते विनाशकारी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलगायत कोरियाका बेपत्ता नागरिकहरूको खोजीका विषयमा छलफल भएको छ। मन्त्री खनालले नेपालका बाढी प्रभावित क्षेत्रमा अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया विपत् राहत टोली (केडिआरटी) पठाएकोमा कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे।
उनले मानवीय सहयोग तथा राहत सामग्री उपलब्ध गराएकोमा पनि प्रशंसा गरे। नेपाल सरकारको आगामी प्राथमिकतामा विपत् प्रतिरोधी, दिगो र अझ राम्रो पूर्वाधार पुनर्निर्माण गर्ने विषय रहेको उल्लेख गर्दै उनले कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने आशा व्यक्त गरे।
विदेशमन्त्री छोले विपतपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्न गणतन्त्र कोरिया सरकार इच्छुक रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका प्रभावबारे अन्य देशलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गर्दै काम गर्नुपर्ने बताए।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले पनि आफ्नो आवाज उठाउने उनले बताए। दुवै मन्त्रीले लामो समयदेखिको मैत्री, पारस्परिक विश्वास र सहकार्यका आधारमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्याउन नजिकबाट निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याए।