रसुवा बाढीपछि विदेशबाट के–के आयो सहयोग ?

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण
  • भारतको सातौँ र चीनको तेस्रो खेप राहत, विश्व समुदायबाट नगद, बेलिब्रिजदेखि ड्रोन र स्वास्थ्य सामग्री सहयोग

तिब्बतबाट भोटेकोशीमा भीषण बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट राहत तथा उद्धार सामग्री एवं मानवीय सहायता आउने क्रम जारी छ । १० भदौको राति राहत सामग्रीको पहिलो खेप पठाएको भारतले अहिलेसम्म सैनिक जहाजमा सातौँ खेप सामग्री पठाएको छ । चीनले तेस्रो खेप राहत सामग्री तथा ड्रोन, बेलिब्रिजको पहिलो खेप उपलब्ध गराएको छ । स्विट्जरल्यान्डले शनिबार अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।

भारतीय वायु सेनाको जहाजका सात खेप जहाजमा ९५ टनभन्दा बढी राहत सामग्री आइपुगेका छन् । रसुवा र नुवाकोटमा सुरुङबाट उद्धारमा भारतीय सेनाको विज्ञ टोली खटिएको छ भने डिएनए परीक्षणमा सहायताका लागि विज्ञहरूको बेग्लै टोली पनि खटिएको छ ।

‘भारतबाट सातवटा सैन्य उडानमार्फत राहत सामग्री प्राप्त भएको छ,’ विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भने । विदेशबाट आएका राहत सामग्री नेपाल सरकारका तर्फबाट बुझ्ने जिम्मेवारी पुनले पाएका छन् । बाढीको सुरु दिनदेखि नै नेपाललाई छिमेकी भारतसहित अन्तर्राष्ट्रिय समुदायले सहानुभूति जनाउँदै आएका छन् । अहिलेसम्म १२ भन्दा बढी देशले राहत सामग्री पठाइसकेका छन् । कतिपय देशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् । 

भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ भने थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले बनाउने पुनर्निर्माण योजनाका आधारमा सहयोग तथा सहुलियत ऋण दिने भारतको तयारी छ । भारतबाट २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध हुनेछ ।

चीनको राहतदेखि प्राविधिक जनशक्ति सहयोग
भोटेकोशी बाढीले चीनको तिब्बत क्षेत्रस्थित जिलोङ काउन्टी (केरुङ जिल्ला) प्रभावित भएको छ । बाढी आएको पाँचौँ दिन (१४ भदौ) मा चीनले पहिलो खेप राहत सामग्री पठायो भने हालसम्म तीन खेप सामग्री पठाइसकेको छ । सुरुङमा रहेकाहरूको उद्धारमा चिनियाँ सेनाको विशेषज्ञ टोली पनि खटिएका छन् भने फरेन्सिकविज्ञहरूको अर्को टोली पनि नेपाली स्वास्थ्यकर्मीहरूसँगै खटिएको छ । चीनको गैरसरकारी संस्थाबाट शुक्रबार राहत आएको छ । शुक्रबार नै चीनले तिब्बत क्षेत्रबाट दुईवटा बेलिब्रिज पठाइदिएको छ ।

पहिलो खेपमा ५० टन उद्धार सामग्री पठाएको चीनले ३० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । चिनियाँ रेडक्रसका तर्फबाट दुई लाख अमेरिकी डलर पनि नेपालले प्राप्त गरेको छ । चीनले ड्रोनसहितका उद्धार उपकरण पनि दिएको छ ।

चीनले शुक्रबार एक सय मिटरका दुईवटा बेलिब्रिज पठाएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताए । नेपाल सरकारका तर्फबाट उनले कागजी रूपमा बेलिब्रिज बुझेका थिए । नेपाल सरकारले चीनसँग ३० वटा बेलिब्रिज मागेको छ । निरौलाका अनुसार चरणबद्धरूपमा चिनियाँ पक्षले बेलिब्रिज उपलब्ध गराउने भनेको छ । चीनले पठाएका दुई बेलिब्रिज मुस्ताङको कोरला नाकामा पुगेका छन् ।

नेपाल ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन नामक चिनियाँ एनजिओको पहिलो चरणको राहत सामग्री बिहीबार आइपुगेको थियो । जसमा ६ हजारवटा मेडिकल बडी ब्याग (शव राख्ने झोला), १७५ वटा त्रिपाल (टेन्ट), एक हजारवटा सिरक, एक हजारवटा बाक्लो ज्याकेट (कपासको कोट), एक हजारवटा आपत्कालीन मानवीय राहत बक्स, र ६ हजारवटा मेडिकल बडी ब्याग रहेका छन् । कुल २७ टन वजन रहेका यी सामग्रीहरूको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको चिनियाँ दूतावासले जनाएको छ ।

बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र पाकिस्तानको साथ
बंगलादेश सरकारले नेपालको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख अमेरिकी डलर उपलब्ध गराएको छ । १८ भदौमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई विदेश राज्यमन्त्री हुमायुँ कोरीले प्रधानमन्त्री तारिक रहमानको चिठीसमेत हस्तान्तरण गरे । उनले चिठी प्रधानमन्त्री शाहलाई पठाएका थिए ।

श्रीलंका सरकारले राहत तथा पुनरुत्थान कार्यका लागि नेपाललाई १० लाख अमेरिकी डलर (करिब १३ करोड ४० लाख नेपाली रुपैयाँ) आर्थिक सहायता घोषणा गरेको छ । भुटानका राजा जिग्मी खेसर नाम्ग्याल वाङचुकको निर्देशनअनुसार भुटान सरकारले नेपालका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड (भारु) सहयोग प्रदान गरेको छ । त्यस्तै, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मुइज्जुले शुक्रबार नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जारी राहत, पुनर्स्थापना र मानवीय सहायता कार्यमा सहयोग पुर्‍याउन १० लाख मालदिभियन रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । पाकिस्तानले बाढी प्रभावितहरूका लागि पठाएको करिब ८६ टन राहत सामग्री आइतबार आइपुग्दै छ ।

अमेरिका, जापानादेखि अन्य मुलुकको निरन्तर सहयोग
अमेरिकाले नेपाललाई राहत सामग्रीको दोस्रो खेप उपलब्ध गराएको छ । मानवीय तथा विपत् प्रतिकार्य सहायताअन्तर्गत खोज, उद्धार तथा पुनरुत्थान कार्यमा सहयोग पुर्‍याउन अमेरिकी सैन्य कार्गो विमानमार्फत पाँच हजार थान विशेष विपत् पीडित उद्धार सामग्री, पाँच सय थान प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–इन्ड लोडरहरू उपलब्ध गराएको छ । अमेरिकाले नेपाललाई ३६ लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरिसकेको छ ।

जापान सरकारले बाढी प्रभावित समुदायको सहयोगका लागि आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ । आपत्कालीन राहत सामग्रीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ‘ह्युमनिटेरियन स्टेजिङ एरिया’मा जापानी राजदूत माएदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । जापानी सहयोग प्याकेजमा प्रभावित समुदायका लागि ९.३ टन कम्बल, प्लास्टिक सिट, सुत्नका लागि प्रयोग हुने म्याट्रेस (स्लिपिङ प्याड), पाल र बोक्न मिल्ने जेरिक्यानहरू छन् । जापानले अन्तर्राष्ट्रिय संघसंस्थाहरूमार्फत वा जापानी विपत् राहत टोली खटाउने आश्वासन पनि दिएको छ । नेपालस्थित इजरायली दूतावासले बाढी प्रभावित धादिङको गल्छी गाउँपालिका– ६, बैरेनीका प्रभावित समुदायहरूलाई शुक्रबार आपत्कालीन मानवीय सहायता बाँडेको छ । दूतावासकी उपनियोग प्रमुख जनन बेबारले प्रभावित क्षेत्र पुगेर आपत्कालीन झोला र अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरिन् । राहत थप आउने उनले जानकारी दिएकी छिन् । अस्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर (नगद सहयोग)को प्रतिबद्धता आएको छ । युएईबाट दुई खेप अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ । कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । 

क्यानडाले अस्थायी सेल्टर किट्स, तारपोलिन, कम्बल, बाल्टीलगायत अत्यावश्यक १८ हजार आपत्कालीन उद्धार सामग्री पठाएको छ । क्यानडाले ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने घोषणा गरेको छ । स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी फ्लाइयाबिलिटीले नेपाललाई अत्याधुनिक ड्रोन दिएको छ । नेपालस्थित स्विस दूतावासले शनिबार ऊर्जा मन्त्रालयलाई यो हस्तान्तरण गरेको छ । ड्रोनले सुरुङभित्र मानवीय खोज तथा उद्धारमा सहयोग पुग्नेछ ।

संयुक्त अरब इमिरेट्स नेपालका बाढी प्रभावितहरूका लागि सहयोगार्थ पठाएको ८० टन सामग्री शनिबार राति आइपुगेका छन् । युएईबाट थप राहत सामग्री आउन लागेको छ । थाइल्यान्डले ७० लाख थाई मुद्रा सहयोग गरेको छ । बाढी प्रभावितको व्यवस्थापन र पुनर्स्थापनाका लागि एसियाली विकास बैंक (एडिबी)बाट बजेटरी सहयोग (अनुदान)का लागि ५० लाख अमेरिकी डलर, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता आएको छ । अमेरिकी सरकारबाट पाँच लाख डलर (३६ लाख डलरभन्दा बाहेक) र एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । स्विट्जरल्यान्डबाट एक मिलियन स्विस (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ । 

संयुक्त राष्ट्रसंघ र साझेदार निकायको पहल
विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन संयुक्त राष्ट्र संघ र मानवीय सहायताका साझेदार निकायहरूले शुक्रबार चार करोड ९६ लाख अमेरिकी डलर (करिब सात अर्ब ५४ करोड रुपैयाँ)बराबरको आकस्मिक अपिल (फ्ल्यास अपिल) सार्वजनिक गरेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समग्र नेतृत्वमा तयार पारिएको चारमहिने यो योजनाले सरकारले पहिचान गरेका तत्कालका प्राथमिकतालाई सम्बोधन गर्ने राष्ट्रसंघले जनाएको छ । उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि थप कष्ट र सरुवा रोगको जोखिम रोक्नु यसको मुख्य ध्येय हो । हिउँद लाग्नुअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउने अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत् नपुगेका ठाउँमा घरपरिवारलाई सौर्य उपकरण उपलब्ध गराई बत्ती र आधारभूत ऊर्जाको व्यवस्था मिलाइने राष्ट्र संघको नेपालस्थित कार्यालयले जनाएको छ ।

युरोपेली संघ (इयू)को अनुदानप्राप्त ८२ टन राहत सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ । इयूको भण्डारबाट युनिसेफको समन्वयमा सामग्री ल्याइएको संघले जनाएको छ । इयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपत् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप पाँच लाख युरो उपलब्ध गराउने जनाएको छ । इयू सिभिल प्रोटेक्सन मेकानिजमअन्तर्गत संघका सदस्य मुलुकहरू लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले लाइफ ज्याकेट, सफाइ सामग्री, कम्बल, चिकित्सा सामग्री र आपत्कालीन उपकरण पठाइरहेका छन् ।  स्वास्थ्य, खानेपानी तथा सरसफाइका सामग्रीदेखि शैक्षिक सामाग्रीहरूमार्फत चार लाख २० हजार मानिसहरूलाई राहत उपलब्ध हुने इयूको विश्वास छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काठमाडौंमा 

  • मुख्य एजेन्डा : बाढीमा बेपत्ता नागरिकको खोजी 

दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन नेपालको भ्रमणमा आइपुगेका छन् । भोटेकोशीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका नौजना दक्षिण कोरियालीहरूको खोजीलगायतका विषयमा छलफल गर्न उनी शनिबार आकस्मिक रूपमा काठमाडौं आइपुगेका हुन् । उनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै छन् ।

ह्युनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरियाली पत्रकारहरूसँग कुराकानीका क्रममा नेपाली समकक्षी खनाल र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने जानकारी दिए । तर, उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको कार्यसूची तय भएको छैन । ‘हामी नेपाली पक्षसँग बाढीको पछिल्लो स्थिति तथा भविष्यको पुनर्निर्माणलगायत दीर्घकालीन सहकार्यका सम्बन्धका विषयमा पनि छलफल छलफल गर्नेछौँ,’ उनले भने ।

ह्युनले बेपत्ता नौजना दक्षिण कोरियालीहरूको खोजी कार्य थप प्रभावकारी बनाउन नेपालको ध्यानाकर्षण गराउनेछन् । खोजी भइरहेका कोरियाली नागरिकको उद्धारका लागि कोरियाली सुरुङ विशेषज्ञको टोली पनि नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ । यसअघि उनले ११ र १३ भदौमा परराष्ट्रमन्त्री खनालसँग टेलिफोनमा कुराकानी गर्दै बेपत्ता नागरिकबारे चासो राखेका थिए । उनी सोमबार स्वदेश फर्किनेछन् । नेपाल बसाइका क्रममा उनले बेपत्ता कोरियाली नागरिकका परिवारजन र दक्षिण कोरियाली कम्पनीका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 

See More On

सुझावित समाचार