मानव बेचबिखनमुक्त समाज निर्माणमा सबै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसँगै सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंकका रूपमा चित्रण गरेका छन् । उनले मानव बेचबिखन संगठित अपराधका रूपमा विश्वभर फैलिँदै गएको भन्दै यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको उल्लेख गरे ।

मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत तथा संस्थागत सुधार गर्दै आएको उनले बताए । यसका लागि तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवालाको समन्वय र सहकार्यमा विभिन्न पहल भइरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन संघीय सरकारसँगै प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन् ।

उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

सुझावित समाचार