सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथामसम्बन्धी सचेतनामूलक वेबिनार आयोजना गरेको छ ।
बैंकले मेदान्त द मेडिसिटी अस्पताल गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय तथा रक्तनलीसम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्त्वबारे सही र आवश्यक जानकारी प्रदान गर्नु रहेको थियो । मेदान्त द मेडिसिटी अस्पताल, गुडगाउँ भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकले जनाएको छ ।
उक्त वेबिनार ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयमा भदाै १६ गते मंगलबार आयोजना गरिएको हो । कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीहरूलाई लक्षित गरिएको थियो । सो सत्रमा मेदान्त द मेडिसिटी अस्पताल, भारतका कार्डियाक केयरअन्तर्गत क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा. मनीष वंशलले स्रोतव्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रमका क्रममा हृदय तथा रक्तनलसम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, रोगबाट बच्ने उपायहरू, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्त्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो ।
उक्त सचेतनामूलक अनलाइन सत्रमा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित सरोकारवालाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।