भरुवा बन्दुकको प्रहारबाट शिक्षकको मृत्यु, घटनामा संलग्न एकजना पक्राउ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

मकालु गाउँपालिका– १ स्थित कालिका आधारभूत विद्यालयमा भरुवा बन्दुकको प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजे मकालु गाउँपालिका– १, चिर्खाङस्थित विद्यालयमा कार्यरत शिक्षक अन्दाजी ३६ वर्षीय नरकुविर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए। उनी संखुवासभाको सिलिचोङ गाउँपालिका– ५, याफुका बासिन्दा हुन्।

सोही क्रममा अचानक बन्दुक पड्किएको आवाज आएपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टीकामाया राई बाहिर निस्किएर हेर्दा नरकुविर खम्बु राई ढलेको तथा शरीरबाट रगत बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकको गोली लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका– १, सिउँडीबारीका अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सुझावित समाचार