भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ।
संस्थाले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गरेको जनाएको छ।
सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले छिमेक लघुवित्तले रु. ३० लाख सहयोग गरेको छ। त्यसैगरी संस्थाका कर्मचारीहरूबाट रु. ११ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग संकलन भएको छ।
संस्था र कर्मचारीबाट प्राप्त गरी कुल रु. ४१ लाख ३९ हजार ७५२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
छिमेक लघुवित्तले विपत्तिको कठिन समयमा प्रभावित नागरिक, सदस्य वर्ग, कर्मचारी तथा उनीहरूका परिवारसँग आफूहरू साथमा रहेको जनाएको छ। संस्थाले राहत तथा उद्धार कार्यमा सहयोग, सहकार्य र एक–आपसमा साथ दिन सबैमा आग्रहसमेत गरेको छ।
संस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकको दुःखमा ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ।