‘एलिफेन्ट्स इन द फग’लाई पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

विश्वका ठुला फिल्म फेस्टिभलको फन्को लगाएर घरेलु दर्शकमाझ आइपुगेको चलचित्र ‘तिनीहरू’ (एलिफेन्ट्स इन द फग)ले नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन पाएको छ।

बुधबार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरिएको भोटेकोशी बाढी पीडितका लागि च्यारिटीसहितको प्रिमियरमा चलचित्र हेरेका दर्शकले कास्ट एन्ड क्रुलाई पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन दिएका हुन्।

देश प्राकृतिक विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त विशेष प्रदर्शनबाट आमन्त्रित दर्शकहरूले स्वेच्छाले गरेका सहयोग तथा चलचित्रका निर्माताहरूको तर्फबाट उठेको सबै रकम सिधै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो।

कलाकारहरू मनीषा कोइराला, करिश्मा मानन्धर, ऋचा शर्मा, उषा रजक, नाजिर हुसेन, दिव्य देव, निर्देशकहरु नवीन सुब्बा, प्रदीप भट्टराई, दीपेन्द्र लामा, प्रतिनिधिसभा सदस्य तथा व्यवसायी विदुषी राणालगायत विभिन्न क्षेत्रका व्यक्ति तथा पत्रकार उपस्थित रहेको स्क्रिनिङमा सबैले चलचित्रको तारिफ गरे।

सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई हात्तीको बिम्बसँग जोडेर बुनिएको चलचित्रको कथाले दर्शकलाई बाँधेर राख्छ। तराईको एक जंगलछेउ बस्ने स्थानीयले भोग्ने हात्तीआतंकलाई यौनिक तथा अल्पसंख्यक समुदायको पारिवारिक तथा सामाजिक बहिष्करणको पीडासँग जोडेर चलचित्र बनाइएको छ।

अभिनयसँगै सिनेमाको प्राविधिक पक्षको पनि तारिफ गरिएको छ। प्रिमियरमा जस्तै माया शुक्रबारबाट हलमा दर्शकबाट पनि पाउने निर्देशक अभिनाशविक्रम शाहले बताएका छन्। चलचित्र भदौ १९ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ।

सुझावित समाचार