पोखरा–दुबई उडान नियमित गर्न महानगरले सहयोग गर्ने

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबई (दुबई एभिएसन कर्पोरेसन)ले पोखरामा सुरु गर्न लागेको व्यावसायिक उडानलाई नियमित गर्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ असोजदेखि एक महिना दैनिक पोखरा–दुबई, दुबई–पोखरा व्यावसायिक उडान गर्ने अनुमति फ्लाई दुबईले पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोही उडानलाई नियमित एवं दिगो रूपमा लैजान पोखरा महानगर र फ्लाई दुबईबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाई दुबईको नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष पराशर प्रसाईँले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार महानगरले फ्लाई दुबईका प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं प्रचार गर्न १५ दिनसम्म निःशुल्क उपयुक्त स्थान उपलब्ध गराउने, यस्ता स्थानमा सडकका पोलमा विज्ञापन गर्ने स्थान, सार्वजनिक प्रदर्शन क्षेत्र, महानगरपालिकाका परिसर तथा दुवै पक्षले आपसी सहमतिमा निर्धारण गरेका अन्य स्थान समावेश हुन सक्नेछन् ।

त्यस्तै, पोखराले आफ्ना आधिकारिक डिजिटल प्लाटफर्म, सामाजिक सञ्जाल तथा संस्थागत सञ्चार माध्यममार्फत उडानको प्रचार–प्रसारमा सहयोग गर्ने तथा आवश्यक समन्वयसमेत गराउनेलगायतका रहेका कडरियाले जानकारी दिए ।

यसैगरी फ्लाई दुबईले प्रवर्द्धनात्मक सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने सम्पूर्ण कार्यका लागि जिम्मेवारी लिएको छ । 

सुझावित समाचार