पृथ्वी राजमार्ग बन्द भएपछि वैकल्पिक सडकमा सवारीको चाप

त्रिभुवन राजपथ, कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी मार्गमा सवारीसाधनको लस्कर

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण
पृथ्वी राजमार्ग बन्द भएपछि वैकल्पिक सडकमा सवारीको चाप

त्रिभुवन राजपथअन्तर्गत दामन सडकखण्डमा सवारीसाधनको लस्कर

सोमबार बिहानैदेखि बागमती प्रदेशका राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका मार्गहरू अन्य दिनभन्दा व्यस्त देखिए । हेटौँडा हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल (सिस्नेरी) सडक र कान्ति लोकपथमा सोमबारबाट नियमितभन्दा बढी सवारीसाधन गुडेका छन् ।

धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग भासिएर पूर्ण रूपमा बन्द भएपछि काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु, इन्धन तथा अन्य सामग्री ढुवानी गर्ने र यात्रु बोकेका अधिकांश सवारीसाधन हेटौँडा हुँदै सञ्चालन भइरहेका छन् । जसकारण, मकवानपुर भएर काठमाडौं जोड्ने सबै वैकल्पिक सडकमा सवारीको अत्यधिक चाप देखिएको छ ।

राजधानीको ‘लाइफलाइन’ मानिने मुग्लिन–काठमाडौं सडक बन्द भएसँगै त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल (सिस्नेरी) सडक र कान्ति लोकपथ अहिले काठमाडौं प्रवेशका प्रमुख वैकल्पिक मार्ग बनेका छन् । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा आएको बहाव र त्यसबाट भएको भूक्षयका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर क्षेत्रमा सडक भासिएको छ । त्यसयता मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द भएको छ । जसले गर्दा चितवन, पोखरा, बुटवल, सर्लाही, बारा, पर्सा, रौतहटलगायत जिल्लाबाट काठमाडौं आउजाउ गर्ने अधिकांश सवारीसाधन हेटौँडा हुँदै सञ्चालन हुन थालेका छन् ।

सवारीको चाप अस्वाभाविक रूपमा बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौं आवतजावत नगर्न तथा अत्यावश्यक अवस्थाबाहेक निजी सवारीसाधन प्रयोग नगर्नसमेत सर्वसाधारणसँग आग्रह गरेको छ ।

सवारीको प्रकृतिअनुसार फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने
जिल्ला प्रशासन कार्यालयले सवारीसाधनको प्रकृतिअनुसार मार्ग छुट्याएर सञ्चालन गर्ने व्यवस्था गरेको छ । सम्पूर्ण मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न निर्देशन दिइएको छ भने १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनले हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने तथा काठमाडौंतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ । त्यस्तै, १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा यात्रुवाहक ठुला सवारीसाधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र फर्किँदा कान्ति लोकपथ हुँदै फर्किने व्यवस्था मिलाइएको छ । 

प्रशासनले ट्राफिक व्यवस्थापनका लागि समयतालिकासमेत लागू गरेको छ । काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउने सवारीसाधन राति १ बजेभित्र हेटौँडा आइसक्नुपर्ने छ भने हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधन राति १ बजेपछि मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । सवारीचालकलाई आफ्नो पालोअनुसार मात्रै सवारी सञ्चालन गर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्णरूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौं जाने सम्पूर्ण सवारी हेटौँडाकेन्द्रित भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । उनले सोमबार मात्रै हजारौँको संख्यामा सवारीसाधन हेटौँडा हुँदै काठमाडौं छिरेको बताए । ‘पृथ्वी राजमार्ग भएर काठमाडौं जाने चितवन, बुटवल र पोखराका सवारी पनि हेटौँडा हुँदै जानुपर्ने भएकाले हेटौँडा काठमाडौं जोड्ने मार्गहरूमा अत्यधिक चाप परेको छ । त्यसैले सवारीसाधनको क्षमताअनुसार मार्ग छुट्याएर सञ्चालन गराएका छौँ,’ उनले भने ।

त्रिभुवन राजपथ फेरि एकपटक राजधानीको ‘लाइफलाइन’ 
हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै काठमाडौं जोड्ने १२१ किलोमिटर लामो त्रिभुवन राजपथ फेरि एकपटक राजधानीको ‘लाइफलाइन’ बनेको छ । वर्षायाममा प्रमुख राजमार्ग अवरुद्ध हुँदा पटक–पटक प्रयोग हुँदै आएको यो ऐतिहासिक सडक अहिले सबैभन्दा बढी व्यस्त बनेको छ । विशेष गरी, लामो दूरीका यात्रुवाहक बस तथा अत्यावश्यक वस्तु र इन्धन बोकेका ट्यांकर यही मार्गबाट सञ्चालन भइरहेका छन् ।

सुझावित समाचार