भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका कोशी प्रदेशका १९३ जनामध्ये २७ जना सम्पर्कमा आएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरले संकलन गरेको पछिल्लो जिल्लागत विवरणअनुसार अझै १५९ जना सम्पर्कविहीन छन्। पाँचजनाको उद्धार र एकजनाको उपचार भइरहँदा एकजनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा पुगेका कोशी प्रदेशका नागरिक बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनीहरूको विवरण संकलन गरिएको हो। सम्पर्कविहीन भनिएकामध्ये क्रमशः परिवार र प्रहरीको सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ।
प्रदेशमा सबैभन्दा बढी सोलुखुम्बुका ४५ जना बाढीपछि सम्पर्कविहीन भएकामा तीनजना सम्पर्कमा आएका छन्। सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको तथ्यंकअनुसार ओखलढुंगाका ३८ जनामध्ये २५ जना सम्पर्कविहीन छन्। तीनजनाको उद्धार गरिएको छ भने १० जना सम्पर्कमा आएका छन्। उदयपुरका सम्पर्कविहीन २१ जनामध्ये पाँचजना परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन्।
सुनसरीका पनि २१ मध्ये पाँचजना सम्पर्कमा आएका छन्। मोरङका १७ जना सम्पर्कविहीनको सूचीमा छन्। झापाका १४ जनामध्ये १३ जना अझै सम्पर्कविहीन छन् भने एकजनाको उद्धार गरिएको छ। इलामका १२ जनामध्ये नौजना सम्पर्कविहीन छन्। त्यहाँ एकजनाको उद्धार गरिएको र एकजनाको उपचार भइरहेको तथा एकजनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खोटाङका ११ जनामध्ये १० जना र ताप्लेजुङका पाँचजनामध्ये दुईजना सम्पर्कविहीन छन्। संखुवासभा र भोजपुरका तीन–तीनजना सम्पर्कविहीन छन्। धनकुटाका दुईजना तथा पाँचथरका एकजना पनि अझै सम्पर्कमा नरहेकाे प्रहरी विवरणमा उल्लेख छ।