काठमाडौं जोड्ने मुख्य राजमार्ग पहिरोले ठप्प

नारायणगढ–मुग्लिन सडकखण्डका परेवाभिर र कृष्णभिर भासिए, पैदल यात्रीलाई पनि रोक

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

१० भदौमा आएको विनाशकारी बाढीले त्रिशूली नदीको तीव्र कटानका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अघिल्लो बाढीदेखि नै सडकको तल्लो भाग (जाली तथा टेको) कटान भइरहेकोमा आइतबार बिहानको बाढीले सडक अड्याएको मुख्य ‘खुट्टा’ (तल्लो बेस) नै ढालेपछि कृष्णभिर क्षेत्रको सडक जगैदेखि भासिएर आवागमन पूर्ण रूपमा ठप्प भएको हो । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार परेवाभिर र त्यसभन्दा करिब दुई सय मिटरअगाडिको अर्को कृष्णभिर दुई ठाउँमा सडक पूरै काटिएको छ ।

घटनास्थलमा सडक विभागका एक्स्काभेटर र प्राविधिक टोलीहरू खटिएर अध्ययन भइरहेको महानिर्देशक जैसीले जानकारी दिए । तर, नदीको कटान अझै जारी रहेकाले अहिल्यै कामदार तथा मेसिन तल पठाउन सक्ने सम्भावना नरहेको विभागले जनाएको छ । नदीको बहाव घटेर कटान नरोकिएसम्म ठ्याक्कै समय भन्न नसकिने उनको भनाइ छ ।

रसुवाको बाढीका कारण त्रिशूली नदीले कृष्णभिर खण्डको करिब २० देखि ५० मिटर सडकको तल्लो जग नै बगाएर सडक भासिएकाले हाल यो राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । 

 चार वैकल्पिक मार्ग
कृष्णभिरमा सडक बगाएलगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कृष्णभिर क्षेत्रमा सडक भासिएकाले अर्को सूचना जारी नभएसम्म सडक सञ्चालन गर्न नसकिने जनाएको छ । पृथ्वीराजमार्ग काठमाडौं जोड्ने मुख्य सडक भएकाले ग्यास, खाद्यान्नलगायतका अत्यावश्यक आपूर्ति गर्न र सर्वसाधारण यात्रुका लागि सडक विभागले चारवटा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

जसअनुसार वीरगन्ज, हेटौँडा, भैँसे, पालुङ, नौबिसे हुँदै काठमाडौं आउने त्रिभुवन राजपथलाई विशेष गरी ग्यास तथा अत्यावश्यक मालवाहक सवारीका लागि प्रयोग गर्न सुझाइएको छ । यस्तै, बर्दीबास, सिन्धुली, खुर्कोट, धुलिखेल हुँदै काठमाडौं आउने बिपी राजमार्ग, हेटौँडा, भैँसे, टीकाभैरव हुँदै आउने कान्ति लोकपथ र कुलेखानी क्षेत्रबाट आउने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ ।  

आजबाट तराईमा सिलिन्डरमा ग्यास भरेर काठमाडौंमा ट्रकमार्फत ढुवानी हुने 

धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सोमबारदेखि ग्यास बुलेट काठमाडौं नआउने भएका छन् । तराईमा रहेका विभिन्न ग्यास उद्योगमा सिलिन्डरमा ग्यास भरेर ट्रकमार्पmत हेटौँडा–कुलेखानी र बाइरोडको बाटो हुँदै काठमाडौंमा ल्याइने भएको छ । यही मार्ग हुँदै पेट्रोल, डिजेल र हवाई इन्धनका ट्यांकरहरू पनि आवतजावत हुनेछन् । 

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेल धादिङ र काठमाडौंसम्म ग्यास बुलेट आउन सक्ने स्थिति नरहेका कारण तराईका उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं ल्याउने वैकल्पिक निर्णय भएको बताए । आइतबार दिउँसो आयल निगमसँगको बैठकमा यस्तो सहमति भएपछि उद्योगीहरू पनि वैकल्पिक मार्गबाट ग्यास ल्याउने गृहकार्यमा जुटिसकेको ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जानकारी दिए । ‘पृथ्वी राजमार्ग सञ्चालन नहुन्जेल बुलेटबाट ग्यास ल्याउन सम्भव देखिएन । किनभने, अरू बाटोबाट १८ टन क्षमताको बुलेट आउन सक्ने अवस्था छैन,’ उनले भने, ‘उद्योगीहरू तराईमै ग्यास भरेर काठमाडौं ल्याउने गृहकार्यमा जुटिसकेका छौँ ।’

ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले विषम परिस्थितिमा भइरहेको आपूर्तिलाई आमनागरिकले सहयोग गर्नुपर्ने बताए । उनले विद्यार्थी, विपन्न र घरभाडामा बस्ने नागरिकलाई लक्षित गरी ग्यास उपलब्ध गराउन डिलरहरूलाई निर्देशन दिएको बताए । ‘अहिले जति ग्यास आउँछ, त्यो ग्यास वास्तवमै खाँचो भएका उपभोक्ताको पहिचान गरेर डिलरले दिनुपर्छ । किनभने, डिलरलाई प्रत्येक उपभोक्ताको बारेमा थाहा हुन्छ,’ उनले भने, ‘महासंघका तर्फबाट पनि हामी यो कुरा सर्कुलर गर्नेछौँ । सरकारले पनि पहुँचवालालाई भन्दा पनि सर्वसाधारण नागरिकलाई लक्षित गरी ग्यास उपलब्ध गराउने नीति लिनुपर्छ ।’

तराईका उद्योगले चौबिसै घण्टा काम गर्ने
तराईका ग्यास उद्योगले तीन सिफ्टमा २४सै घण्टा काम गर्ने व्यवस्था मिलाएका छन् । ग्यास उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका शिवप्रसाद घिमिरेको स्वामित्वमा हेटौँडामा सहारा ग्यास उद्योग छ । उनको स्वामित्वमा रहेका एभरेस्ट र सुगम ग्यास हेटौँडाको सहारा ग्यासमा भर्ने गरी व्यवस्थापन मिलाइसकेको जानकारी दिए । नेपाल ग्यासले पनि चितवनमा रहेको आफ्नै उद्योगमा सिलिन्डर भर्ने गरी व्यवस्थापन मिलाएको छ । सगर ग्यासले नवलपरासीमा रहेको चण्डेश्वरी ग्यास उद्योगमा सिलिन्डर भर्ने भएको छ । बाबा र श्री ग्यासको उद्योग नै चितवनमा रहेकाले त्यहाँ सिलिन्डर भरेर ट्रकमा ओसार्नेछ । श्रीराम ग्यासले धनुषामा रहेको जानकी उद्योगमा र मनोज ग्यासले वीरगन्जस्थित आफ्नै उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउनेछन् । 

नुवाकोट–रसुवा  वैकल्पिक सडक खुल्यो 
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मुख्य सडकमार्ग अवरुद्ध भएपछि सरकारले नुवाकोटबाट रसुवा पुग्ने छोटो वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ । विदुर–चौगटे–सरमथली–जिरोकिलो सडकमा पहिरो हटाउने र आवश्यक मर्मतको काम सम्पन्न भएपछि सडक सञ्चालनमा आएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले आइतबार सडक खुलाएको हो । कार्यालयका अनुसार विदुरदेखि जिरोकिलोसम्मको करिब १५ किलोमिटरको दूरीमा रहेको पहिरो पन्छाउने र आवश्यक मर्मतको काम गरिएको छ । छोटो दूरीको यो सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार