प्रहरीले ठुलो परिमाणमा अवैध मदिरासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका– १२, कर्मैया प्रहरी चेकपोस्टमा खटिएका सुरक्षाकर्मीले १३ लाख ५५ हजारबराबरको अवैध मदिरा बरामद गरेको हो । बाराबाट सर्लाहीको मलंगवातर्फ आँउदै गरेको डिएल २ सिएपी ४०१८ नम्बरको भारतीय कारको अगाडि बर्नट र सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाइ लैजाँदै गरेको मदिरा बरामद भएको प्रहरीले जनाएको हो ।
कारबाट प्रहरीले रेड लेबल ५० बोतल, रोयल स्टेज २४ बोतल, म्याकडोनेल ठुलो ३५ बोतल र म्याकडोनेल सानो ३९ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए । बिल–बीजकसमेत नभएको मदिरासहित चारैजना भारतीयलाई आवश्यक कारबाहीका लागि प्रहरीले हिरासतमा लिएको छ ।
पक्राउ पर्नेमा कारचालक भारतको सीतामढी जिल्ला हरनैया पञ्चायत– ३ बस्ने ३३ वर्षीय दीपक कुमार, कारमा सवार बेतिया जिल्ला हतिया पञ्चायत– ८ बस्ने ३६ वर्षीय अल्बु यादव, लैरिया पञ्चायत– ६ का ३० वर्षीय कृष्णा भगत र वडा नम्बर ४ बस्ने २० वर्षका आलोक कुमार छन् ।