गत वर्षको उपाधि विजेता सिराहाको सलहेस युथ क्लबले रोमाञ्चक पेनाल्टी सुटआउटमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अन्तराष्ट्रिय आमन्त्रण चौथो ‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भएको क्वार्टरफाइनलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटमा सलहेसले ४–३ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।
खेलको सुरुवातदेखि नै प्रतिस्पर्धात्मक देखिएको दुवै टोलीबीच पहिलो हाफमै गोलको आदानप्रदान भएको थियो। सलहेसले पहिले गोल गर्दै अग्रता लिए पनि सातदोबाटोले केही समयमै जवाफी गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो।
निर्धारित समयको बाँकी खेलमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सलहेसका फागुराम थारु, सनिष श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले पेनाल्टीमा गोल गरेका फुटबल आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले बताए। रोहन कार्कीको प्रहार भने गोलमा परिणत हुन सकेन। सातदोबाटोका विशाल भण्डारी तथा शिला र श्याम मुर्मुले पेनाल्टीमा गोल गरे। तर, विश्व लामा र सामेल सुनुवारको प्रहार असफल भएपछि सातदोबाटोको यात्रा क्वार्टरफाइनलमै टुंगियो।
सलहेसलाई अन्तिम चारमा पु¥याउन गोलरक्षक दीप कार्कीको प्रदर्शनसमेत महत्वपूर्ण रह्यो। उत्कृष्ट प्रदर्शन गरेका कार्कीले खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यसअघि उद्घाटन खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङपोङ र दोस्रो क्वार्टरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।
उद्घाटन खेलमा पराजित आयोजक ताप्लेजुङ–११ तथा दोस्रो क्वार्टरफाइनलमा पराजित चित्लाङ फुटबल क्लब काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएका छन्। अब प्रतियोगिताको अन्तिम सेमिफाइनल टोलीको टुंगो भोली सोमबार लाग्नेछ। अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा–११ आमने सामने हुने आयोजकले बताएको छ।
उक्त खेलको विजेताले अन्तिम चारमा सलहेस, जर्जियन युनाइटेड र फिदिम स्पोर्टिङसँगै स्थान बनाउनेछ। लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ १० गते हुनेछ।