भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वयलगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थितिसम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमान्डमा विभिन्न टोली परिचालन गरिएका छन्।
प्रहरी नायब महानिरीक्षक सुदर्शन कोइरालाको कमान्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपत् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपत् व्यवस्थापन, उद्धार, खोजी, राहत वितरण, शव संकलन एवं व्यवस्थापनलगायत समग्र कार्यको प्रभावकारी समन्वय भइरहेको छ। यसैगरी, प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाको कमान्डमा रहेको शिक्षण अस्पताल महाराजगन्जको कमान्ड पोस्टमार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्धार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको छ। बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वयलगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थितिसम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र सञ्चार साधनसहित प्रहरी वरिष्ठ उपरीक्षकहरूसहितको टोलीसमेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुरूप विपत् व्यवस्थापनका लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिँदै आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले भन्छन्, ‘विपद्को समयमा नागरिकको जिउ धनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो। सोहीअनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्धार एवं खोज कार्यमा कुनै पनि त्रुटि एवं कमी-कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम् प्रयोग गरी नागरिकको जिउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ। बाढी प्रभावित क्षेत्रहरूमा उद्धार एवं खोजको लागि स्थानीय तह एवं अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ।’
बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धारपश्चात मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार एवं खोजीको लागि ड्रोन एवं कुकुरसहितको सर्च एन्ड रेस्क्यु टोली छुट्टाछुटै स्थानमा परिचालन गरिएको छ। कानुनी सहायता तथा घटनास्थलसम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ। काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ। शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ। शव व्यवस्थापनमा शवको फोटो, भिडियोसहितको अभिलेखीकरण गरी डिएनए, फिंगर प्रिन्टको नमुनासमेत संकलनका लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य भइरहेको प्रवक्ता काफ्ले बताउँछन्।