भोटेकोशी बाढीपीडितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग

अध्यक्ष कालाखेतीले तीन महिनाको सेवा सुविधाको रकम दिने

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
भोटेकोशी बाढीपीडितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग

नुवाकोटको देवीघाट बजार ।

मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। साथै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तीन महिनाबराबरको सेवासुविधा तथा अन्य जनप्रतिनिधिले एक महिनाबराबरको सेवासुविधाको रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएका छन्।

आइतबार बसेको गाउँपालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाको विपत् कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपत् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम जारी रहेकै वेला मनहरी गाउँपालिकाले राहत सहयोगको घोषणा गरेको हो।

गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तीन महिनाको सेवासुविधा तथा सबै निर्वाचित जनप्रतिनिधिले एक महिनाबराबरको सेवा सुविधा प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय पनि गरेका छन्। गाउँपालिकाले यसलाई विपतकाे समयमा जनप्रतिनिधिको सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको सन्देशका रूपमा लिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुरोधअनुसार गाउँपालिकाले आवश्यक उद्धार सामग्री पनि सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरिसकेको जनाएको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्याउन सुरक्षा निकायसँग समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ।

यसैबिच गाउँपालिकाले पालिकाभित्रका उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समिति, सहकारी, सरकारी तथा गैरसरकारी संस्था र आम नागरिकलाई राहत सामग्री संकलन अभियानमा सहभागी हुन अपिल गरेको छ। बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तथा अन्य अत्यावश्यक जिन्सी सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउन आग्रह गरिएको छ।

राहत संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन गाउँपालिकाले सम्बन्धित वडाका वडाध्यक्षसँगै ज्ञानेन्द्र ढकाल र नगर प्रहरी प्रमुख मेनराज घलानलाई सम्पर्क व्यक्ति तोकेको छ।

सुझावित समाचार