प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँबराबरको सहयोग प्रदान गर्ने भएको छ।

आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरू ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लिलेन्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसललगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ।

त्यस्तै, आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको तर्फबाट समेत एक दिनको तलबबराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ।

यसैगरी आइएमईले संसारभरिबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको छ भने खल्ती बाई आइएमई मोबाइल वालेटमार्फतसमेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ। साथै, आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ।

आइएमई ग्रुपले अकल्पनीय विपतमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।

सुझावित समाचार