धनुवाणसम्बन्धी अनेकौँ प्रतियोगिता जितेपछि एक युवकले आफूलाई सबैभन्दा ठुलो धनुर्धारी मान्न थाले । जहाँ पुगे पनि उनी मानिसलाई आफूसँग धनुवाणमा प्रतिस्पर्धा गर्न चुनौती दिन्थे र उनीहरूलाई हराएर खिल्ली उडाउँथे ।
एकपटक ती युवकले धनुर्विद्याका गुरुलाई नै धनुवाण प्रतियोगिताका लागि चुनौती दिए । गुरुले युवकको चुनौती स्वीकार गरे । प्रतियोगिता सुरु भयो । आफ्नो पहिलो प्रयासमा युवाले लक्ष्यको बिचमा निसाना प्रहार गरे र अर्को प्रहारमा उनले लक्ष्यमा लागेको पहिलो तीरलाई बिचबाट भेदन गरे । आफ्नो क्षमतामा गर्व गर्दै युवकले प्रश्न गरे– गुरु, के तपाईँ योभन्दा राम्रो गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्, होइन भने हार स्वीकार गर्नुहोस् ।
गुरुले युवकलाई आफ्नो पछि आउन इसारा गरे । एकैछिनमा गुरु एक गहिरो खोँचनजिक पुगे । खोँच देख्दा युवक त्रसित भए । उनले भने– गुरु हामी कता जाँदै छौँ ? गुरुले खोँचको बिचमा बनेको एउटा जीर्ण पुल देखाउँदै भने– चिन्ता नगर बाबु, हामी लगभग पुग्यौँ । अब यो पुलको बिचमा पुगेर लक्ष्य भेदन गर्नुपर्छ । दुई पहाड जोड्न खोँचमाथि काठको पुल बनाइएको थियो ।
गुरुले पुलको बिचमा पुगेर टाढाको रुखको टोड्कामा निसाना लगाए । उनले भने– ल अब तिमी पनि त्यहीँ निसाना लगाएर आफ्नो दक्षता प्रमाणित गर । युवक डराउँदै अघि बढे र बडो मुस्किलले पुलको बिचमा पुगे । उनले निसाना त लगाए, तर वाण लक्ष्यको नजिक पनि पुगेन । युवकले निराश भई हार स्वीकार गरे ।
गुरुले भने– बाबु, तिमीले धनु र वाणलाई त नियन्त्रणमा लिएका छौ, तर जुनसुकै अवस्थामा पनि निसाना प्रहार गर्न आवश्यक पर्ने मनमा भने अझै तिम्रो नियन्त्रण छैन । जबसम्म मानिसमा सिक्ने जिज्ञासा रहन्छ, तबसम्म उसको ज्ञान बढ्छ, तर जब उसमा श्रेष्ठ बन्ने अहंकार बढ्छ, तब उसको पतन सुरु हुन्छ । युवकले आफ्नो गल्ती महसुस गरेर गुरुसँग माफी मागे । उनले भविष्यमा कहिल्यै आफ्नो कर्ममा घमण्ड नगर्ने प्रण गरे ।