रसुवाको माथिल्लो भेगबाट आएको बाढीका कारण त्रिशूली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि पश्चिम चितवनका नदीकिनारका बस्तीहरू जोखिममा परेका छन्। भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्तीलगायतका क्षेत्रमा नदीले धार परिवर्तन गर्न सक्ने सम्भावना देखिएपछि जोखिम न्यूनीकरणका लागि सरकारी संयन्त्र परिचालन गरिएको ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयका अनुसार विगतको जोखिम नक्सांकनमा नारायणी नदीको उक्त खण्डलाई तुलनात्मक रूपमा कम जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो। तर, पछिल्ला वर्षहरूमा नदीको बहाव प्रवृत्तिमा आएको परिवर्तनसँगै पानीको बहाव र थेग्रान तथा गेग्रानको व्यवहार अपेक्षाभन्दा फरक देखिएको भन्दै नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरवलोकन गरिने भएको छ।
सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी घटनास्थलमा परिचालन भएको मन्त्रालयले जनाएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोलीसमेत घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
तत्कालीन जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गर्न आवश्यक ठुला ढुंगा जुटाउने काम भइरहेको छ। निर्माण सामग्रीको उपलब्धताका लागि गैँडाकोट नगरपालिकासँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। नदीको दुवैतर्फका स्थानीय तह र प्रदेश सरकारको संयुक्त प्रयासबाट मात्रै दीर्घकालीन तथा दिगो समाधान सम्भव हुने मन्त्रालयको भनाइ छ।
दीर्घकालीन रूपमा नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । यसबाट नदीको धार, बहाव र कटानको जोखिम कम हुने उनको भनाइ छ ।