३३ बेलिब्रिज अनुदान सहयोग गर्न चीन र भारतलाई आग्रह

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण
  • बाढीले पक्की र बेलिब्रिज गरी ३२ पुल र ४५ झोलुंगे पुल बगाएको छ, तत्काल यी स्थानमा आवतजावत नियमित गर्न दुई छिमेकीसँग मागियो सहयोग

रसुवा बाढीले तीन जिल्लाका ३२ वटा पुल क्षतिग्रस्त भएका ठाउँमा बेलिब्रिज जडानका लागि सरकारले छिमेकी मुलुक भारत र चीनसँग सहयोग मागेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख अमृत लम्सालका अनुसार चीनसँग ३० वटा र भारतसँग तीनवटा बेलिब्रिज अनुदानमा उपलब्ध गराइदिन आग्रह गरिएको छ । ‘बाढीले क्षतिग्रस्त पुल तत्काल मर्मत गर्न ढिलाइ हुन्छ । त्यसैले, उक्त ठाउँमा बेलिबिज्र जडान गरेर आवतजावत सहज बनाउन चीनसँग ३० वटा र भारतसँग तीनवटा बेलिब्रिज सहयोग गर्न आग्रह गरेका छौँ,’ उनले भने ।

भौतिक विकास मन्त्रालयका अनुसार रसुवा, नुवाकोट र धादिङमा कुल ३२ मध्ये ६ वटा बेलिब्रिज पुल बाढीले बगाएको छ । रसुवामा मात्रै १३ पुल बगाएको छ । मन्त्रालयका अनुसार रसुवामा पर्ने मितेरी, टिमुरे–१, टिमुरे–२, भोटेकोशी (चिलिमे), चिलिमे खोला, भोटेकोशी जलविद्युत्को बेलिब्रिज, स्याफ्रुबेँसी, हाकु–१, हाकु–२, माथिल्लो त्रिशूली जलविद्युत् बेलिब्रिज, मैलुङ, त्रिशूली थ्री ए ड्यामनजिक–१ र त्रिशूली थ्री ए ड्यामनजिक–२ रहेका छन् ।

त्यसैगरी, रसुवा र नुवाकोट दुवै जिल्लामा पर्ने तीनवटा भोटेकोशी नदी पुल (खाल्टे), वेत्रावती पुरानो पुल र वेत्रावती नयाँ पुल पनि बगाएको छ । नुवाकोटमा पर्ने १२ वटा पुल बाढीले बगाएको छ । त्यसमध्ये त्रिशूली नदीमा रहेका मात्रै नौवटा पुल छन् । भौतिक मन्त्रालयका अनुसार त्रिशूली नदीमा रहेका टुप्चे, त्रिशूली बजार पुरानो, त्रिशूली बजार नयाँ, सिमचौर, देवीघाटनजिक, श्रीखाली, बुद्धसिंहघाट, रातमाटे र केउरिनी पुल बगाएको छ । त्यस्तै, देवीघाट, तान्डी खोला पुल र तान्डी खोला नयाँ पुलसमेत बगाएको छ ।

धादिङमा चारवटा पुल बगाएको छ । यी सबै पुल त्रिशूली नदीका हुन् । नयाँ गल्छी, जरे बगैँचा, घाटबेँसी र फुर्केखोलाको पुल बगाएको हो । यसबोहक तीनवटा पुल त्रिशूली नदीको हेलमेट रिसोर्टनजिक, कोल्पु खोला पुरानो र कोल्पु खोला नयाँ पुल क्षतिग्रस्त भएका छन् भने बाढीको जोखिमबाट ६ वटा पुल जोगिएका छन् ।

सुझावित समाचार