हाइड्रोका ९३४ कर्मचारी बेपत्ता

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा बाढी आएको तीन दिन बितिसक्दा भोटेकोशी तथा त्रिशूली नदी–किनारमा सञ्चालित र निर्माणाधीन जलविद्युत् आयोजनाका नौ सय ३४ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले तयार पारेको तथ्यांकअनुसार ११ आयोजनाका ती कर्मचारी तथा कामदार शुक्रबार साँझसम्म सम्पर्कमा आउन सकेका छैनन् । 

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार बाढीपछि जलविद्युत् आयोजनामा कार्यरत नौ सय ३४ जना अझै सम्पर्कविहीन छन् । ‘यो शुक्रबार साँझसम्मको उद्धारपछि अद्यावधिक तथ्यांक हो,’ उनले भने, ‘हामीले पनि उद्धारका लागि पहल गरिरहेका छौँ । सरकारले पनि तदारुकताका साथ उद्धारको प्रयास गरिरहेको छ । तर, जलविद्युत् आयोजना रहेका ठाउँमा सडक सम्पर्क विच्छेद हुनु र हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने अवस्थाका कारण उद्धारमा कठिनाइ भएको छ ।’

बाढीका कारण चार सय ३१ मेगावाट क्षमताका १२ आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । त्यस्तै, निर्माणाधीन चार सय ७० मेगावाट क्षमताका १५ आयोजना पनि प्रभावित भएका छन् । यसैबिच, ऊर्जा मन्त्रालयले बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे सम्बन्धित आयोजना व्यवस्थापक, इप्पान र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसँग बैठक गरी विवरण अद्यावधिक गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । उद्धार तथा खोजी कार्यलाई रातको समयमा समेत प्रभावकारी बनाउन सुरक्षाकर्मीका लागि दुई सय थान हेडलाइट र नौ सय थान ब्याट्री उपलब्ध गराइएको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी तथा प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना र प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी पुनर्स्थापना तथा उद्धारका काम तीव्र पारिएको छ । मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ ।

माथिल्लो त्रिशूलीमा ५७६ सम्पर्कविहीन
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा धेरै कर्मचारी तथा कामदार कोरियाली लगानीको माथिल्लो त्रिशूली १ (२१६ मेगावाट)का पाँच सय ७६ कर्मचारी तथा कामदार अझै सम्पर्कमा आएका छैनन् । शुक्रबार मात्रै आयोजनाबाट दुई सय ५० हाराहारी कर्मचारी तथा कामदारको उद्धार गरिएको थियो ।

पाँच सय ७६ जना सम्पर्कविहीन मध्ये २५४ जना सुरुङभित्र रहेको बताइएको छ । आयोजनाको सुरुङ ब्रेकथ्रु भइसकेको भए पनि सुरुङभित्र हावा प्रवेश गर्ने अवस्था रहेकाले उद्धारमा रहेका कामदार तथा कर्मचारी सकुशल भेटिने आशा गरिएको छ ।

त्यस्तै, निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनामा एक सय ५८ जना सम्पर्कविहीन छन् । पूर्ण क्षमतामा निर्माण भइरहेको उक्त आयोजनामा सम्पर्कविहीनमध्ये एक सय २५ जना एफडब्लुएस कन्स्ट्रक्सनका कर्मचारी रहेको बताइएको छ ।

सञ्चालनमा रहेको एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना पनि सम्पर्कविहीन छन् । त्यस्तै, २० मेगावाटको लाङटाङ जलविद्युत्का ४२, एक सय २० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार, २२ मेगावाटको चिलिमे जलविद्युत्का आठ र पाँच मेगावाटको मेलुङ खोला जलविद्युत्का सातजना सम्पर्कविहीन छन् ।

यस्तै, २४ मेगावाटको त्रिशूली जलविद्युत्का एक, १४.१ मेगावाटको देवीघाट जलविद्युत्का एक, ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’का ४२ र १५.६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । माथिल्लो त्रिशूली ३ ‘ए’ नेपाल विद्युत् प्राधिकरणको आयोजनामा प्राधिकरणका ४२ जना कर्मचारी नियमित मर्मतसम्भारका लागि कार्यरत थिए । तर, बाढी आएपछि उनीहरू विद्युत्गृहभित्रै थुनिएका छन्। 

उद्धार जारी, केहीको सकुशल उद्धार 
सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारमध्ये केहीको भने उद्धार गरिएको छ । शुक्रबार कोरियाली लगानीको माथिल्लो त्रिशूली १ बाट मात्रै २५० जना कर्मचारी तथा कामदारको उद्धार गरिएको छ । त्यस्तै, २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाबाट १८ जनाको उद्धार भएको छ । उक्त आयोजनामा अझै ४२ जना सम्पर्कविहीन छन् । रसुवागढी जलविद्युत् आयोजनाको केन्द्रभित्र फसेका चार कर्मचारीको पनि सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनील माझी छन् । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

See More On

सुझावित समाचार