राहत कोषमा लहान नगरपालिकाको ११ लाख सहयोग घोषणा

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट पीडितको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि सिराहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ।

नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार अपराह्न पत्रकार सम्मेलनमार्फत ७३औँ नगर कार्यपालिकाको बैठकले आफ्नो एक महिनाको तलबसहित सम्पूर्ण पदाधिकारी र नगरपालिकामातहत कार्यरत कर्मचारीहरूको एक दिनको तलबबराबर ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। 

प्रमुख चौधरीका अनुसार नगर कार्यपालिकाका पदाधिकारी र कर्मचारीहरूको एक दिनबराबरको तलब जम्मा गरी ११ लाख रुपैयाँ प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपत् व्यवस्थापन कोषमा उपलब्ध गराइने छ।

सिराहाका एकजना परिवारको सम्पर्कमा
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार दिउँसोसम्म सम्बन्धित परिवारका सदस्यले टोल फ्री नम्बरमा गराएको जानकारीको आधारमा रसुवाका पाँच हाइड्रोपावर र विद्यालयका शिक्षक गरी सम्पर्कविहीन भएका सातमध्ये एकजना सम्पर्कमा आएका छन्।

भोटेकोशीमा बुधबार बिहान बाढी आएपछि सम्पर्कविहीन भएका रसुवा हाइड्रोपावरमा कार्यरत  गोलबजार नगरपालिका– १० का ३२ वर्षीय टार्जन राई बिहीबार बिहान करिब ८ बजेतिर परिवारको सम्पर्कमा आएका सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

उनका अनुसार त्रिशूली हाइड्रोपावर– ३ ‘बी’मा कार्यरत ४० वर्षीय मिर्चैया नगरपालिका– १० का ४० वर्षीय श्यामसुन्दर साह, शेर्पा हाइड्रोपावरमा काम गरिरहेका गोलबजार– ७ का ३० वर्षीय राजा यादव सम्पर्कविहीन भएका छन्। त्यस्तै, चाइना हाइड्रोपावरमा कार्यरत लहान नगरपालिका– ४ का ३१ वर्षीय उमेश यादव, लाङटाङ हाइड्रोपावरमा कार्यरत धनगढीमाई नगरपालिका– ६, मोथियाहीका २९ वर्षीय आनन्दकुमार महतो पनि सम्पर्कविहीन भएको परिवारलाई उद्धृत गर्दै उनले बताए।

भोटेकोशी बाढीमा नुवाकोटको बेत्रावतीस्थित उत्तरगया पब्लिक स्कुलमा कार्यरत मिर्चैया– ५ का ६० वर्षीय वैद्यनाथ साह र उनका आफन्त १५ वर्षीय आयुष साह सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।  प्रहरीमा आफ्नो परिवारका सदस्य सम्पर्कविहीन रहेको जानकारी नदिएको, तर भोटेकोशी बाढीमा रसुवास्थित एक हाइड्रोपावर आयोजनामा करिब एक वर्षदेखि सिभिल इन्जिनियरका रूपमा कार्यरत कल्याणपुर नगरपालिका– ११ का रोशन साह पनि बेपत्ता भएको आफन्तले बताएका छन्।

त्यस्तै, लहान नगरपालिका– १५ विराटनगर टोलका इन्जिनियर मुकेशकुमार चौधरी पनि बुधबारदेखि नै सम्पर्कविहीन छन्। करिब दुई महिनादेखि रसुवाको नाकानजिकै रहेको हाइड्रोपावरमा कार्यरत रहेका चौधरी सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेको लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए।

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का वडाध्यक्ष सञ्जय यादवका अनुसार आफ्नो वडा क्षेत्रको सीमान्त गाउँ भौर टोल स्थायी घर भएका सलदेव यादव (मुन्ना) पनि सम्पर्कविहीन छन्। उनका अनुसार यादव फेवा कन्स्ट्रक्सनअन्तर्गत त्रिशूली– ३ ‘बी’ आयोजनामा कार्यरत थिए। लहान नगरपालिका– १०, ग्रामीण चोक घर भई त्रिशूली–३ ‘बी’ हाइड्रोपावरमा कार्यरत प्रतीक भट्ट सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन्।

सुझावित समाचार