चिर्पट प्रहार गरेर छोराले गरे बाबुको हत्या

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

धनकुटाको चौबिसे गाउँपालिकामा छोराले दाउराको चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन्। चौबिसे गाउँपालिका– ७, ठुलोढुंगाका ३२ वर्षीय युवराज लिम्बूले आफ्नै बुबा ७० वर्षीय अमरध्वज लिम्बूको दाउराको चिर्पटले टाउकोमा प्रहार गरी आज बिहान ५:३० बजेतिर हत्या गरेको प्रहरीले बताएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बिट मौनाबुधुक धनकुटा र इलाका प्रहरी कार्यालय राजारानी चौबिसे धनकुटाको टोली घटनास्थल पुगेको छ। घटनाको कारण अहिले खुलिनसकेको भए पनि छोराको चिर्पट प्रहारबाट उनको बुबाको घटनास्थलमा नै मृत्यु भएको थियो।

मृतकको शव अहिले घटनास्थलमा नै रहेको छ भने घटनामा संलग्न युवराजलाई घटनास्थलबाट करिब पाँच सय मिटर तल जंगलमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। उक्त घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट एसपी नारायण रञ्जितकारको कमान्डमा १० जना प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । 
 

सुझावित समाचार