रसुवा बाढीले पाँच पेट्रोलपम्प क्षतिग्रस्त

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

बुधबार बिहान लेन्दे खोलामा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका ५ वटा पेट्रोलपम्प क्षतिग्रस्त बनाएको छ। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनका अनुसार रसुवाको बेत्रावती आयल स्टोरमा पूर्ण क्षति पुगेको छ।

एसोसिएसनको कार्यलय सचिव नारद भण्डारीका अनुसार पुनः सञ्चालन गर्न नसक्ने गरी बेत्रावती पम्पमा क्षति पुगेको छ। ‘बेत्रावती पेट्रोलपम्प पूर्ण रूपले क्षतिग्रस्त भएको छ। मर्मत गरेर फेरि चलाउन सक्ने अवस्था नै छैन,’ उनले भने, ‘पेट्रोलपम्पको संरचनाहरू केही पनि बाँकी छैनन्।’ त्यस्तै, नुवाकोटमा रहेका वनदेवी आयल स्टोर र उत्तरगया आयल स्टोर तथा धादिङको भीमसेन आयल स्टोर र धादिङ आयल स्टोरमा पनि ठुलो क्षति पुगेको भण्डारीले जानकारी दिए।

एसोसिएसनले बुधबार एक विज्ञप्ति निकालेर बाढी प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन क्रियाशील भएको पनि जनाएको छ। ‘यस विषम परिस्थितिमा पनि हामी सदाझैँ पेट्रोलियम पदार्थको नियमित आपूर्ति व्यवस्थालाई असहज हुन नदिन प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । क्षति भएका पेट्रोलपम्पको सम्पत्ति मूल्यांकनमा सरकारबाट सहजीकरणको अपेक्षा राखेको पनि एसोसिएसनले जनाएको छ। 
 

सुझावित समाचार