भोटेकोशीको बाढीपछि नारायणगढ–काठमाडौंतर्फ सवारी पूर्ण रूपमा रोक

उच्च सतर्कता अपनाउन चितवन प्रशासनको अपिल

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण नारायणगढ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै धादिङको बैरेनीलगायत नारायणगढ–काठमाडौं सडकखण्डका विभिन्न स्थानमा बाढीका कारण सडक अवरुद्ध भएको र सडक खुलाउन केही समय लाग्ने उल्लेख गर्दै अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन रोक्ने निर्णय गरिएको जनाएको छ।

प्रशासन कार्यालयका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौं जाने सवारीसाधन बाटोमै अलपत्र पर्ने, थप जोखिम सिर्जना हुने तथा उद्धार र सडक सञ्चालनमा समेत समस्या आउन सक्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले भोटेकोशीसहित विभिन्न नदीमा जलप्रवाह उच्च रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिम अझै पूर्ण रूपमा नटरेकाले सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरिएको हो ।

प्रशासनले अनावश्यक रूपमा नदीकिनार, जोखिमयुक्त क्षेत्र तथा पहिरोको सम्भावना भएका स्थानमा नजान पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाढी, पहिरो तथा सडक अवरोधका कारण कुनै समस्या परे वा उद्धार तथा आपत्कालीन सहयोग आवश्यक परे तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

सुझावित समाचार