राम्रोसँग खान योग्य नहुँदै एभोकाडो बिक्री–वितरण हुन थालेपछि धनकुटा नगरपालिकाले अहिले नै नटिप्न र बेचबिखन नगर्न आग्रह गरेको छ । धनकुटा नगरपालिकाले काँचो तथा अपरिपक्व एभोकाडो बजारसम्म पुग्दा फलको स्वाद, गुणस्तर र एभोकाडोप्रति उपभोक्ताको विश्वासमा असर पर्न सक्ने भन्दै परिपक्व फल मात्र टिप्न आग्रह गरेको हो ।
नगरपालिकाले परिपक्व एभोकाडो पहिचानका लागि फल आफ्नो जातअनुसार उचित आकार र पूर्ण विकास भएको हुनुपर्ने जनाएको छ । केही जातमा बोक्राको रङ हरियोबाट पहेँलो–हरियो हुँदै जान सक्ने भए पनि रङ मात्रका आधारमा परिपक्वता निर्धारण नगर्न आग्रह गरिएको छ ।
फलको उचित आकार, बाहिरी स्वरूप तथा अन्य परिपक्वताका संकेत हेरेर मात्र टिप्नुपर्ने नगरपालिकाले जनाएको छ । फलभित्रको बिउको बोक्रा पातलो र खैरो गाढा हुँदै जानु पनि परिपक्वताको संकेत हुने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । एभोकाडो उत्पादनका लागि परिचित धनकुटामा नगरपालिकाले परिपक्व तथा गुणस्तरीय एभोकाडो मात्र टिपेर बिक्री–वितरण गर्न किसान तथा व्यवसायीलाई आग्रह गरेको छ ।
काँचो फल बजारमा पठाउँदा तत्कालको आम्दानी भए पनि धनकुटाको एभोकाडो ब्रान्ड, बजार र उपभोक्ताको विश्वासमा दीर्घकालीन असर पर्न सक्ने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए । साथै, एभोकाडो टिप्दा फललाई तान्ने वा झटारो हानेर नटिप्न, कैँची वा क्लिपर प्रयोग गरी डाँठसहित सावधानीपूर्वक काट्न नगरपालिकाले सुझाव दिएको छ ।
टिपिएका फलमा चोटपटक, घर्षण वा दाग नलाग्ने गरी सावधानी अपनाउन तथा भुइँमा नखसालेर छायामा सुरक्षित रूपमा संकलन र ढुवानी गर्न पनि आग्रह गरिएको छ । त्यस्तै, रोग लागेको, कुहिएको, क्षतिग्रस्त वा गुणस्तरहीन फल बिक्री नगर्न नगरपालिकाले किसान तथा व्यवसायीलाई अनुरोध गरेको छ ।