राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने चार सय केभीको हेटौँडा–ढल्केबरसहित १० प्रसारणलाइन सञ्चालनमा आउने भएको छ । चालू आर्थिक वर्ष ०८३/८४ मा सञ्चालनमा आउने प्रसारणलाइनमा नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारणलाइन चार सय केभीकै ‘न्यु बुटवल–गोरखपुर’ पनि रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकअनुसार प्राधिकरणअन्तर्गत अघि बढेका विभिन्न प्रसारणलाइनमध्ये १० परियोजनाको निर्माण चालू आवमै सकिने अनुमान गरिएको हो । अहिले विभिन्न क्षमताका ९५ वटा प्रसारणलाइन सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ ।
हेटौँडा–ढल्केबर भदौमै सकिने
राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड चार सय केभी हेटौँडा–ढल्केबर प्रसारणलाइनको निर्माण यही भदौमा सम्पन्न हँुदै छ । एक सय ३५ किमि लामो यस प्रसारणलाइनमा १२३.६ किमिमा तार तान्ने काम भइसकेको छ । यस प्रसारणलाइनमा रहेका तीन सय ७८ टावरमा तीन सय ७२ वटाको निर्माण सम्पन्न भइसकेको छ । अब ११.४ किमिमा मात्रै तार तान्न बाँकी छ । गत असार २४ गतेको मन्त्रिपरिषद्ले मकवानपुर खण्डको २.२ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा आयोजना क्षेत्रमा पर्ने रुख हटाउन स्वीकृति प्रदान गरेसँगै यो परियोजनाको निर्माण तीव्र भएको छ । यही स्वीकृति पाउन नसक्दा झन्डै १४ वर्षदेखि परियोजनाको निर्माण अलपत्र थियो ।
निर्माणाधीन परियोजनाले विद्युत्लाई आवश्यकताअनुसार पूर्व–पश्चिम प्रसारण गर्न सहयोग पुग्नेछ । साथै, आन्तरिक विद्युत्लाई भारततर्फ निर्यात गर्ने विन्दु ढल्केबरसम्म पुर्याउन पनि सहयोग पुग्छ । हाल आन्तरिक प्रसारण प्रणालीको क्षमता कमजोर हुँदा मागअनुसार विद्युत्लाई पूर्व–पश्चिमा प्रवाह गर्न सकिएको थिएन । यसले आन्तरिकसँगै विद्युत् निर्यातमा पनि ठुलो सहयोग पुग्ने प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ बताउँछन् ।
दोस्रो अन्तरदेशीय प्रसारणलाइन यसै वर्ष
यसैगरी, नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारणलाइन चार सय केभीकै न्यु बुटवल–गोरखपुर पनि यसै वर्ष सञ्चालनमा आउँदै छ । यसमा झन्डै १८ किमि लामो नेपालखण्ड एमसिसी अनुदानअन्तर्गत मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले गर्दै छ । यस प्रसारणलाइनमा बन्ने ५२ वटा टावरमध्ये ४६ वटाको निर्माण सम्पन्न भइसकेको छ । यो प्रसारणलाइनको निर्माण एक महिनाभित्रै सम्पन्न हुँदै छ ।
भारतखण्डको प्रसारणलाइन भने नेपाल–भारतको संयुक्त लगानीमा बन्दै छ । यो प्रसारणलाइन आगामी नोभेम्बर अर्थात् मंसिरमा सञ्चालनमा आउने प्राधिकरणको दाबी छ । एक सय १७ किमि लामो भारतखण्डमा ८७ किमिमा निर्माण सम्पन्न भइसकेको छ । तीन सय २५ वटा टावरमा तीन सय १० वटाको निर्माण सम्पन्न भइसकेको छ ।
यस परियोजनाबाट भारततर्फ तत्काल दुई सय मेगावाट विद्युत् निर्यात गरिँदै छ । ३१ असारमा पोखरामा सम्पन्न १३औँ नेपाल–भारत संयुक्त ऊर्जासचिवस्तरीय बैठकमा यसबाट तत्काललाई दुई सय मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । नेपालतर्फ भने यो प्रसारणलाइन एमसिसी अनुदानमै निर्माणाधीन चार सय केभीको न्यु बुटवल सबस्टेसन लाइनबाट सुरु हुन्छ । उक्त सबस्टेसनको निर्माण भने डिसेम्बर ०२७ मा सम्पन्न हुँदै छ ।
तुम्लिङटार–शीतलपाटी अन्तिम चरणमा
प्राधिकरणअनुसार यो वर्ष दुई सय २० केभीको तुम्लिङटार–शीतलपाटी प्रसारणलाइन पनि यसै वर्ष सञ्चालमा आउँदै छ । १४ किमि लामो यस प्रसारणलाइनमा ३९ वटा टावर निर्माण सकिएको छ । अब तार तान्ने काम मात्रै बाँकी छ । त्यसमा पनि तीन किमिमा तार तान्ने काम भइसकेको छ । यो परियोजना आगामी माघसम्म सञ्चालनमा आउने दाबी छ । यसले पूर्वी नेपालको विद्युत् प्रसारणलाई प्रभावकारी बनाउनेछ । यो वर्ष सञ्चालनमा आउनेमा उच्च क्षमताका प्रसारणलाइन यी तीन हुन् । त्यसमा ढल्केबर–हेटाैंडा र न्यु बुटवल–गोरखपुर रणनीतिक रूपमा पनि निकै महत्वपूर्ण छन् ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ भन्छन्– निर्माणाधीन परियोजनाले विद्युत्लाई आवश्यकताअनुसार पूर्व–पश्चिम प्रसारण गर्न सहयोग पुग्नेछ । हाल आन्तरिक प्रसारण प्रणालीको क्षमता कमजोर हुँदा मागअनुसार विद्युत्लाई पूर्व–पश्चिममा प्रवाह गर्न सकिएको छैन । यसले आन्तरिकसँगै विद्युत् निर्यातमा सहयोग पुग्छ ।
सञ्चालनमा आउन लागेका एक सय ३२ केभीका सात प्रसारणलाइन
- कोहलपुर–दैलेख असार ०८४ मा सञ्चालनमा आउनेछ । ३२ किमि लामो यस प्रसारणलाइनमा एक सय एक टावरमध्ये ८० वटाको फाउन्डेसन निर्माण हुँदा ३२ वटाको निर्माण सकिएको छ । टावरको निर्माण सम्पन्न गरेर असारसम्म यो परियोजना सञ्चालनमा ल्याउने तयारी छ ।
- कालीगण्डकी–रिडी प्रसारणलाइन पनि तत्काल सञ्चालनमा आउँदै छ । २२.५ किमि लामो यस प्रसारणलाइनमा बन्ने ७० वटै टावरको निर्माण सम्पन्न भएको छ । त्यसमा ८.५५ किमिमा तार पनि तानिसकिएको छ ।
- भुमही–हुकाई प्रसारणलाइन पनि असार ०८४ सम्म सञ्चालनमा आउने दाबी गरिएको छ । १४.४ किमि प्रसारणलाइनमा ४७ वटा टावर बन्नेछन् । त्यसमा २२ वटा टावरको फाउन्डेसन बनेको छ । ११ महिनामा बाँकी काम सम्पन्न गरेर परियोजना सञ्चालनमा ल्याउने दाबी छ ।
- १९.२ किमि लामो अमरपुर–ढुंगेसाहु प्रसारणलाइन भने मंसिरमा सञ्चालनमा आउने दाबी गरिएको छ । ६७ वटा टावरमा ६२ वटाको फाउन्डसेन निर्माण भइसकेको छ । त्यसमा २७ वटा टावर भने पूर्ण रूपमा तयार भएका छन् । अब बाँकी टावर बनाएर तार तान्ने तयारी छ ।
- २० किमि लामो लालबन्दी–सिमलपुर प्रसारणलाइनको निर्माण सम्पन्न भइसकेको छ । अब आवश्यक तयारी पूरा गरेर यस प्रसारणलाइन चार्ज गर्ने तयारी प्राधिकरणको छ । सम्भवतः यो असोजसम्म सञ्चालनमा आउनेछ ।
- २० किमि लामो बलेफी–बाह्रबिसे प्रसारणलाइन भने असार ०८४ मा सञ्चालनमा आउनेछ । ६३ वटा टावर हुने यस परियोजनामा ५९ वटाको फाउन्डेसन तयार छ । त्यसमा पनि ४३ वटा टावरको निर्माण पूर्ण रूपमा सम्पन्न भएको छ । अब बाँकी टावर निर्माण गरेर तार तान्ने तयारी छ ।
- १२ किमि लामो कुश्मा–न्यु मोदी प्रसारणलाइन पनि असार ०८४ मा सञ्चालनमा आउनेछ । यसमा ३७ वटा टावर बन्दै छन् । त्यसमा सातवटाको फाउन्डेसन तयार भएको छ । अब बाँकी अवधिमा टावर निर्माण गरेर तार तान्ने प्राधिकरणको योजना छ ।