जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय झन्डाको प्रयोगसम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना गर्न सार्वजनिक निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयले गत शुक्रबार सूचना जारी गर्दै जिल्लाका केही सार्वजनिक स्थानमा राष्ट्रिय झन्डा अशोभनीय ढंगले राखिएको तथा कानुनविपरीत प्रयोग भएको गुनासो प्राप्त भएपछि राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ बमोजिम झन्डाको प्रयोग गर्न आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पदराज उपाध्यायले जारी गरेको सूचनामा जिल्लाका विभिन्न सरकारी कार्यालय, निवासपरिसर, सार्वजनिक स्थल, सडककिनार, सार्वजनिक सवारी तथा सर्वसाधारणका निजी निवासमा फहराइएका राष्ट्रिय झन्डा च्यातिएको, रंग उडेको, बिग्रिएको वा अन्य कारणले अशोभनीय देखिएमा तत्काल फेर्न भनिएको छ।
त्यस्तै, राष्ट्रिय झन्डा प्रयोग गर्दा अपमान हुने गरी उल्टो अर्थात् चन्द्रमा तल पर्ने गरी नराख्न, नच्यात्न, नजलाउन र झन्डामा थपघट नगर्न प्रशासनले सचेत गराएको छ। राष्ट्रिय झन्डालाई कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनमा प्रयोग गर्न वा विज्ञापनका लागि दुरुपयोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
राष्ट्रिय झन्डाको मर्यादा र सम्मानमा आँच आउने गरी प्रयोग नगर्न तथा नगराउन जिल्ला प्रशासन कार्यालय उदयपुरले सबैमा हार्दिक अपिल गरेको छ।