टप दरबार रोधीको लोकदोहोरी मेला आज सकिँदै, प्रकाश सपुतदेखि रामजी खाँणसम्मको प्रस्तुति

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

जमलस्थित टप दरबार रोधी क्लबमा तीन दिनदेखि गुञ्जिरहेको लोकदोहोरीको माहोल आज समापन हुँदै छ। क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजित ‘लोकदोहोरी मेला २०८३’ को अन्तिम दिन आज प्रकाश सपुत, रामजी खाँण, शान्तिरानी परियार, नारायण रायमाझीलगायत करिब एक दर्जन कलाकारले प्रस्तुति दिनेछन्।

भदौ ५ गते भव्य उद्घाटनसँगै सुरु भएको मेलाले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डिसीले मेलाको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा सहभागी अतिथि कलाकार तथा विशिष्ट व्यक्तित्वलाई बाजागाजासहित स्वागत गरिएको थियो।

दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिको उपस्थितिले उद्घाटन समारोहलाई थप विशेष बनाएको थियो। त्यसपछि सुरु भएको सांगीतिक कार्यक्रममा ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत दर्जनौँ कलाकारले प्रस्तुति दिएका थिए।

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो। विश्वज्योति मलको चौथो तलास्थित टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि कतिपय दर्शकलाई कार्यक्रमस्थलबाट फर्काउनुपर्ने अवस्थासमेत आएको थियो। कलाकारका प्रस्तुतिमा दर्शकले गीत गाउँदै, नाच्दै र ताली बजाउँदै साथ दिएका थिए।

तीन दिनसम्म सञ्चालन भएको मेलामा लोकदोहोरी क्षेत्रका स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारले समेत प्रस्तुति दिएका छन्। टप दरबार रोधीमा नियमित रूपमा आबद्ध कलाकारको सहभागिताले पनि कार्यक्रमलाई निरन्तर सांगीतिक माहोलमा राखेको थियो।

मेलाको अन्तिम दिन आज पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ। प्रकाश सपुत, रामजी खाँण, शान्तिरानी परियार, नारायण रायमाझीलगायत कलाकारले प्रस्तुति दिने भएपछि समापन साँझमा पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

सुझावित समाचार