‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर शनिबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको क्युएफएक्स हलमा सम्पन्न भएको छ।

नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार तथा दर्शकहरूको उल्लेख्य उपस्थितिबिच वृत्तचित्रका तीनवटा विशेष शो आयोजना गरिएको थियो। तीमध्ये एक शो विशेष रूपमा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजका सञ्चालक, प्रिन्सिपल तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूका लागि आयोजना गरिएको थियो।

‘सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौँ,’ निर्देशक निर्मल श्रेष्ठले भने, ‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो। सगरमाथासम्बन्धी हाम्रो कथा सधैँ अरूमार्फत सुनिँदै आइएको थियो। अब हाम्रो हिमालको कथा हामी आफैँले भन्नुपर्छ भन्ने मान्यता पनि यो फिल्मले बोकेको छ। हामीसँग आफ्नै कथा छ, आफ्नै दृष्टिकोण छ, त्यसैले हाम्रो हिमाल र हाम्रो कथा हामी आफैँले भन्न सक्नुपर्छ,’ उनले थपे।

यो वृत्तचित्र भावी पुस्ताका लागि एउटा दस्ताबेज पनि रहने र दशकौँपछि हिमाल नरहे पनि यो वृत्तचित्र रहिरहने निर्देशक श्रेष्ठले बताए। ‘त्यसवेला हाम्रो पुस्ताले भोगेको हिमाल, त्यसको सौन्दर्य, संघर्ष र त्यससँग जोडिएको कथा यसले सुनाइरहनेछ। सगरमाथा हाम्रो देशको गौरव हो भन्ने अनुभूति पनि यसले गराइरहनेछ,’ श्रेष्ठले भने।

कार्यक्रममा ‘वि विल राइज फाउन्डेसन’का अध्यक्ष तुलसी गुरुङले सगरमाथा विश्वले चिनिसकेको विषय भए पनि यसको वास्तविक अर्थ र महत्त्वलाई नेपाली दृष्टिकोणबाट बुझाउने उद्देश्यले ‘रोड टु एभरेस्ट’ निर्माण गरिएको बताए। ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा चढ्ने उनको यात्रालाई फिल्मले सपना, संघर्ष, आत्मविश्वास र मानवीय दृढसंकल्पको कथाका रूपमा प्रस्तुत गरेको छ। वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको समेत सहभागिता छ। वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। यो वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’मा कृत्रिम वा कम्प्युटरसिर्जित दृश्य प्रयोग गरिएको छैन। सामाजिक संस्था वि विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्रको उद्देश्य नेपाली हिमाली सम्पदा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे जनचेतना फैलाउनु रहेको निर्माण पक्षले जनाएको छ।

नेपाल प्रिमियर सम्पन्न भएसँगै ‘रोड टु एभरेस्ट’लाई नेपालका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा लैजाने तयारी भइरहेको छ। यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा आयोजना हुने निर्माण पक्षले जनाएको छ।

प्रदर्शनपछि सहभागी दर्शकहरूले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले ‘रोड टु एभरेस्ट’ले सगरमाथालाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर दिएको र नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको बताएका थिए।

सुझावित समाचार