११औँ तामाङ ज्ञान महोत्सव भदौ ७ र ८ गते हुने

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

११औँ तामाङ ज्ञान महोत्सवको तयारी पूरा भएको छ। तामाङ पहिचान दिवसको अवसर पारेर महोत्सव भदौ ७ र ८ गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजना हुने भएको हो।

एघारौँ तामाङ ज्ञान महोत्सव मूल आयोजक समिति–२०८३ का संयोजक निष्णु थिङका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

१९८९ साल भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेर राणाले तामाङ भाषामा लेख्न–लेखाउन इस्तिहार जारी गरेकाले उक्त दिनलाई तामाङ पहिचान दिवसका रूपमा मनाउने गरिएको आयोजकले जनाएको छ।

दुईदिने महोत्सवमा प्रा.डा. सञ्जीव उप्रेती र भारतको नर्थ बंगाल विश्वविद्यालय, सिलिगुडीका डा. सुदास तामाङले विद्वत् प्रवचन दिनेछन्।

महोत्सवमा १२ वटा कार्यपत्र प्रस्तुत गरिनुका साथै चार विषयमा समूहगत छलफल हुनेछ। छलफलमा ‘तामाङ जेन अल्फा : के सोच्छन् आफ्नैबारे?’, ‘तामाङ जेन्जी : मुद्दा, आकांक्षा र सपना’, ‘तामाङ संगीतको बहस’ र ‘मुलुकी ऐन–१९१० ले तामाङमाथि पारेको बहुआयामिक प्रभाव’ विषय समेटिनेछन्।

त्यस्तै, कार्यक्रममा तामाङको उत्पत्ति र इतिहासबारे व्याख्यान, सृष्टिको उत्पत्तिसम्बन्धी दार्शनिक व्याख्या तथा ताम्बा गीत प्रस्तुतिसमेत हुने आयोजकले जनाएको छ।

सुझावित समाचार