महोत्तरीमा नेपाल– भारत सिमावर्ती जिल्लाहरुको समन्वय समिति बैठक सम्पन्न

अपराध नियन्त्रण र लागुऔषध निरुत्साहनमा जोड

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल भारत सिमावर्ती जिल्लाहरुको समन्वय समिति बैठक शनिबार सम्पन्न भएको छ । नेपालतर्फको महोत्तरी,सर्लाही तथा रौतहट र भारततर्फको सितामढी जिल्लाका प्रसासनिक तथा सुरक्षा निकाय प्रमुखहरुबिच उक्त बैठक भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारत सितामढीका डिएम तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा भएको उक्त बैठकमा अघिल्लो बैठकको समीक्षासहित विविध समसामयिक सुरक्षासँग जोडिएका विषयहरुमा छलफल भएको हो ।

बैठकमा लागुऔषध,अपराध,तस्करी र सिमा पिलर लगायतका विषयमा छलफल भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।सिमापार हुने मानव बेचविखन,अवैध आप्रवासन तथा तेस्रो मुलुकतर्फको अनधिकृत आवतजावत नियन्त्रण,सिमापार लागुऔषध तथा मनोप्रभावी पदार्थको अवैध कारोवारविरुद्धको संयुक्त कारवाही,अवैध हतियार,गोलीगठा,चोरी भएका सवारी साधन तथा चोरीका सम्पति सिमापार रोक्ने विषयमा दुर्ई  देशका जिम्मेवार अधिकारीले संयुक्त टोली निर्माण गरि नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रजिअ यादवले थपे ।

त्यसतै तस्करी तथा अवैध व्यापार नियन्त्रण,विपद व्यवस्थापन तथा आपतकालिन असम्वय,सिमा पुर्वाधार तथा सिमा स्तम्भ व्यवस्थापन,सुचना आदान प्रदान तथा सञ्चार,संयुक्त गस्ती तथा सिमा निगरानी सहितका विविध विषयमा चर्चा भएको हो । हालै नेपालका केहि किसानहरु भारतमा खाद्य लिन गएको बेला भारतिय सुरक्षा निकायबाट पक्राउ परेको विषय समेत बैठकमा उठान भएकोमा भारतको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको र यस विषयमा सुरक्षा निकायहरुलाई निर्देशन दिई सहज वातावरण निर्माण गरिने भारतिय पक्षबाट बताइएको प्रजिअ यादवले बताए ।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी तथा सुरक्षा निकाय प्रमुखहरु,रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल तथा सुरक्षा निकाय प्रमुखहरु तथा भारतको सितामढी जिल्ला अन्तर्गतका सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति थियो ।

सुझावित समाचार