न निस्सासियोस् बाल्यकाल

काठमाडौंलाई अझै धेरै चाहिन्छ हरियाली खुला क्षेत्र

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

ललितपुरको ज्वागलस्थित बागमती किनारमा बनेको बालबाटिका पार्कमा सोमबार साँझ भेटिइन्, सर्लाही घर भई कुपन्डोल बस्दै आएकी बबिताकुमारी सिंह । अगाडि उनका दुई छोराछोरी अन्य बालबालिकासँग खेल्दै थिए । ‘दिनभर स्कुल हुन्छ । स्कुलबाट आउनेबित्तिकै होमवर्क गर्छन् अनि पार्कमा खेल्न जाऊ भन्छन्,’ सिंह भन्छिन्, ‘एक दिन बिराएर आउँछौँ । पार्कमा आउँदा खेल्न पाउँछन्, रमाइलो मान्छन् । घरमा बस्दा बच्चा मोबाइल हेर्छन् ।’ उनकी छोरी युकेजी र छोरा एलकेजीमा पढिरहेका छन् ।

छोरीसहित त्यही पार्कमा पुगेका थिए, सप्तरी घर भई कुपन्डोल बस्दै आएका रुद्र सिंह । आठ वर्षीया छोरी कक्षा १ मा पढ्छिन् । ‘दिनभर काम गर्छु । साँझ मेरो पनि छुट्टी भएपछि यहाँ लिएर आउँछु । मोबाइलभन्दा बेस खेलेकै राम्रो,’ उनले भने ।

ललितपुरको चाकुपाटमा रहेको इमुखेल बाल उद्यानमा भेटिएका अभिभावकको अनुभव पनि उस्तै छ । उद्यानको नजिकै घर भएकी प्रविना शाक्य दुबईबाट नेपाल आएकी आफ्नी नातिनी लिएर पुगेकी थिइन् । उनले सुनाइन्, ‘जाऊँ कि जाऊँ भनेपछि ल्याएँ । नातिनीको एक महिना बिदा छ, यसरी नै घुमाउँदै छु ।’

चाकुपाटमा बस्दै आएकी लीला धमला युकेजीमा पढ्ने छोरी लिएर इमुखेल उद्यान पुगेकी छन् । ‘घरमा बच्चा टिभी, मोबाइल हेर्न खोज्छ । बरु यहाँ आउँदा रमाउँछन् । मोबाइल पनि बिर्सन्छन्,’ उनी भन्छिन्, ‘नयाँ–नयाँ साथी बनेका छन् । घरमा भन्दा यहाँ रमाउँछ ।’

नक्साल नारायणचौर खुला पार्क नेपालको नमुना पार्क हो । चारैतर्फबाट खुला रहेको यो पार्कमा बालबालिका, वृद्धवृद्धा र तन्नेरी सबै टहलिन आउँछन् । यही पार्कभित्र बालबालिकाका लागि उद्यान पनि बनाइएको छ । नक्सालमा बस्दै आएकी पुरनीकुमारी पासवान आफ्नी सात वर्षीया छोरी लिएर पार्क पुगेकी भेटिइन् । ‘घरमा मोबाइल हेर्छ । यहाँ आएपछि खेल्छ । त्यही भएर ल्याएको,’ उनले सुनाइन् ।

पार्कनजिकै बस्दै आएकी सुशीला बमले पनि हरेक दिन छोरीलाई लिएर आउने गरेको सुनाइन् । ‘स्कुलबाट आउँछ, होमवर्क गरेपछि खेल्न ल्याउँछु । घरमा प्रायः मोबाइल चलाउँछन् । उसका चार साथी बनेका छन्,’ उनले बताइन् ।

खुला वातावरण, पिङ, चिप्लेटी र दौडधुपले बालबालिकाको ध्यान मोबाइल र टिभीको स्क्रिनबाट पूर्ण रूपमा हटाउँछ । खुला ठाउँमा दौडिने, उफ्रिने र खेल्ने गर्नाले बालबालिकाको मांसपेशी र हड्डीको विकास हुनुका साथै प्राकृतिक घामबाट भिटामिन ‘डी’ प्राप्त हुन्छ । यसले मोटोपनको जोखिम पनि घटाउँछ ।

पार्कमा अन्य बालबालिकासँग खेल्दा उनीहरूले सहकार्य गर्ने, पालो पर्खिने, साथी बनाउने र भावना साटासाट गर्नेजस्ता सामाजिक व्यवहार स्वतः सिक्छन् । हरियाली र खुला हावाले बालबालिकाको मानसिक थकान मेटाउँछ । यसले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता र रचनात्मक सोच बढाउँछ ।

अभिभावक पार्क आउँदा खुसी त देखिन्छन् । तर, साझा गुनासो छ, काठमाडौंमा बाल उद्यान र खुला क्षेत्र कम छन् । केही ठुला पार्क त छन्, तर बालमैत्री छैनन् । बालमैत्री पार्क हुनका लागि सुरक्षित खेल क्षेत्र, उमेरअनुसार खेल सामग्री, घाँसे मैदान, पिउने पानी, बालमैत्री शौचालय, अपांगमैत्री संरचना र सवारीसाधनबाट सुरक्षालगायत चाहिन्छ ।

उपत्यकाका शंखपार्क, युएनपार्क, सहिदपार्क, मित्रपार्क, लैनचौर पार्क, मदन भण्डारी पार्क, बालाजु, भूगोलपार्कसहित ५४ ठुला पार्क छन् । यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा अन्य थुप्रै पार्क पनि छन् । सदर चिडियाखानामा सार्वजनिक बिदाका दिन अत्यधिक भिड हुने गर्छ ।

काठमाडौं उपत्यकामा हजारौँ बालबालिकाका लागि खुला आकाशमुनि हरियो घाँसमा दौडिने, माटोमा खेल्ने वा रुखको छायामुनि साथीसँग रमाउने अनुभव दुर्लभ बन्दै गएको छ । तीव्र र अव्यवस्थित सहरीकरणका कारण काठमाडौं उपत्यका कंक्रिटको जंगलमा परिणत हुँदा यसको प्रत्यक्ष र दीर्घकालीन असर बालबालिकाको समग्र विकासमा परिरहेको छ ।

शान्तिनगर बस्दै आएका कपिलदेव भट्टका भनाइमा बालबालिकालाई घरबाहिरका खुला उद्यानमा ल्याउँदा निकै फाइदा छ । तर, घरनजिक पार्क नहुँदा समस्या हुने गरेको उनको अनुभव छ ।

सहरी विकास विज्ञका अनुसार एउटा बस्न योग्य र स्वस्थ सहरमा कम्तीमा १० देखि १५ प्रतिशत खुला तथा हरियाली क्षेत्र हुनुपर्छ । तर, काठमाडौं उपत्यकाको हालको स्थिति यो मापदण्डभन्दा धेरै टाढा छ । उपत्यकामा कुल भूभागको एक प्रतिशतभन्दा पनि कम सार्वजनिक खुला क्षेत्र बाँकी छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको अध्ययनअनुसार ७२१ वर्गकिलोमिटरमा फैलिएको उपत्यकामा सार्वजनिक खुला क्षेत्र मात्र (सडक, नदीबाहेक) ३.७२ वर्गकिलोमिटर छ । यसलाई उपत्यकाको जनसंख्यासँग सामान्य रूपमा तुलना गर्दा ०७८ को जनगणनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरको जनसंख्या ३० लाख २५ हजार ३८६ का लागि सार्वजनिक खुला क्षेत्र निकै न्यून देखिन्छ । अझ काठमाडौंको अस्थायी बसोवास दोब्बरभन्दा बढी छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको सहरी विकास, बहुप्रकोप जोखिम र भूउपयोग परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार पनि यहाँको जनसंख्याको जनघनत्व बढी भएका क्षेत्रमा निर्मित क्षेत्र विस्तार सम्भावना ४३.९ प्रतिशतले बढ्ने देखिन्छ । सन् २०१० मा १० हजार ५३७ हेक्टरमा निर्मित क्षेत्र सन् २०३० सम्म २१ हजार ३७८ हेक्टर (२१३.८ वर्गकिलोमिटर) पुग्ने आकलन छ ।

वातावरणविद् अरुणा थापा पनि खुला तथा पार्कमा बालबालिका लैजानु भनेको मोबाइल, कम्प्युटरबाट एकछिनका लागि भए पनि टाढा राख्नु रहेको बताउँछिन् । ‘सहरको सौन्दर्य कति खुला क्षेत्र छ भनेर देखाउँछ । बालबालिकाका लागि त खुला ठाउँ अति आवश्यक छ,’ उनी भन्छिन् ।

हरेक टोलमा सानो खुला क्षेत्र भएमा साना बालबालिकालाई निकै सहज हुने वातावरणविद् थापाको भनाइ छ । तर, पहिलेका खुला चौर, पर्ती जग्गा र सार्वजनिक स्थल अहिले कंक्रिटका ढलान र अग्ला भवनले ढाकिएका छन् । टोलटोलमा भएका साना चौर पनि पार्किङ वा भवन निर्माणमा प्रयोग भएका छन् ।

किन बनाउने खुला क्षेत्र ? 
बाल उद्यान केवल मनोरञ्जनस्थल मात्र होइन, यो सहरको ‘फोक्सो’ र बालबालिकाको विकासको आधारभूत आवश्यकता हो । उपत्यकामा खुला क्षेत्र र बाल उद्यान व्यापक रूपमा बढाउनुपर्ने बताउँछिन् वातावरणविद् अरुणा थापा । ‘बालबालिकालाई पार्क लैजान गाडी चढेर घन्टौँ टाढा जान नपरोस् । हरेक वडा र टोलमा पैदल पाँचदेखि १० मिनेटमै पुग्न सकिने ससाना पार्क हुनुपर्छ,’ उनी भन्छिन् ।

त्यति मात्र होइन, खुला क्षेत्रको उपयोगिता भूकम्पजस्ता प्राकृतिक विपत्मा पनि उत्तिकै रहन्छ । किनकि, काठमाडौं भूकम्पको उच्च जोखिमयुक्त सहर हो । तीव्र प्रदूषण र धुलोले आक्रान्त काठमाडौंमा हरियाली पार्कले हावा सफा गर्न र सहरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छन् ।

बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बालबालिका घरबाहिर पार्कसँगै प्राकृतिक ठाउँमा जाँदा मानसिक विकासमा पनि सहयोग पुग्ने बताउँछन् । डा. कार्कीले भने, ‘अभिभावकले बालबालिकालाई प्राकृतिक ठाउँमा लैजाँदा, घुमाउँदा शारीरिकसँगै मानसिक विकासमा सहयोग पुग्छ । बच्चाले पानी, हावा, बिरुवा, माटोसँग स्पर्श गर्न पाउँछन् । पार्कमा रहेका अरू बालबालिकासँग पनि खेल्दा नयाँ साथी बनाउँछन् ।’

विश्व स्वास्थ्य संगठनले सहरी हरियाली तथा सार्वजनिक खुला स्थानले मानिसको शारीरिक गतिविधि बढाउन, मानसिक स्वास्थ्यमा सुधार ल्याउmन र सामाजिक अन्तर्त्रिया बढाउन सहयोग गर्ने बताउँदै आएको छ ।

बालबालिकाका लागि यसको महत्व अझ बढी छ । खेल्दा बालबालिकाले शरीर चलाउने मात्र होइन, समूहमा मिलेर खेल्ने, हारजित स्वीकार गर्ने, समस्या समाधान गर्ने र सामाजिक सम्बन्ध विकास गर्ने अवसर पाउँछन् । तर, खुला ठाउँको अभावमा यस्तो प्राकृतिक सिकाइको अवसर पनि घट्दै जान्छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त जानुका ढकाल नयाँ बस्ती विकास गर्दा अनिवार्य रूपमा बाल उद्यान र हरियालीका लागि जग्गा छुट्याउने नीति कडाइका साथ लागू गर्नुपर्ने बताउँछिन् । ‘काठमाडौंको घना बस्तीमा भएको खुला क्षेत्र संरक्षण गर्ने हो । नयाँ बनाउन त सकिँदैन,’ उनले भनिन्, ‘तर, उपत्यका वा उपत्यकाबाहिर सहरीकरण विस्तार भइरहेका क्षेत्रमा कम्तीमा पाँच प्रतिशत खुला क्षेत्र राख्नुपर्छ । जग्गा प्लटिङ गर्दा नै पाँच प्रतिशत खुला छाड्नुपर्ने नियम छ । सरकारले कम्पनीमार्फत मात्र प्लटिङ गराएर यो नियम कडाइका साथ लागू गर्नुपर्छ ।’

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उपत्यकामा केही हदसम्म सार्वजनिक अतिक्रमण हटाएर खुला पार्क बनाउने तथा पुराना पार्कको संरक्षण गर्ने काम अघि बढेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले हरेक वडामा तीन–चारवटा पार्कको नीति अघि सारिएको बताए । ‘सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ । पुराना पोखरी, हिटी, चउर ब्युँताउने, संरक्षण गर्ने काम भइरहेको छ,’ उनले भने ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पनि पोखरी र मासिएका पार्क ब्युँताउन थालिएको बताए । ‘वडा नम्बर ५ मा भवन थियो । वडा कार्यालयको भवन भत्काएर पार्क बनेको छ । पुल्चोकमा महानगरको कार्यालय रहेको क्षेत्रमा पनि पार्क संरक्षण भइरहेको छ,’ उनले भने, ‘खाली रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै टोलटोलमा बालमैत्री पार्क निर्माण गर्ने नीति छ ।’

तस्बिरहरू : सञ्जीव योन्जन/नयाँ पत्रिका

सुझावित समाचार