नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् ।
ग्रोथ लिडरसिप एकेडेमीद्वारा होटेल सोल्टीमा शुक्रबार आयोजित सेल्स समिट कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष अग्रवालले विगतमा सफल बिक्रीकर्मीहरू मुख्यतः अनुभव, अन्तर्ज्ञान र व्यक्तिगत सम्बन्धमा निर्भर रहने गरेको उल्लेख गर्दै आजको प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको महत्त्व तीव्र रूपमा बढेको बताए । उनले भने, ‘आज हरेक ग्राहकसँगको अन्तरक्रिया आफैँमा महत्त्वपूर्ण सूचना हो। ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल संलग्नता, बजार प्रवृत्ति, प्रतिक्रिया र कारोबारसम्बन्धी तथ्यांकले व्यवसायलाई महत्त्वपूर्ण जानकारी दिन सक्छ ।’
डेटा आफैँमा सफलताको आधार नभएको उल्लेख गर्दै डेटा सही रूपमा विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने र उक्त जानकारीलाई ग्राहकको मूल्य तथा व्यावसायिक परिणाममा बदल्न सक्नुपर्ने उनले बताए ।
अध्यक्ष अग्रवालले भविष्यका बिक्री व्यवसायीमा डेटा संकलन र बुझ्ने, त्यसको बुद्धिमत्तापूर्वक विश्लेषण गर्ने तथा प्राप्त जानकारीलाई ग्राहकको हित र व्यावसायिक नतिजामा रूपान्तरण गर्ने क्षमता आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) ले व्यवसाय र बिक्री क्षेत्रमा ठुलो परिवर्तन ल्याइरहेको बताउँदै एआईको प्रयोगबाट ग्राहकको आवश्यकता बुझ्न, मागको पूर्वानुमान गर्न, व्यक्तिगत रूपमा सञ्चार गर्न, सम्भावित अवसर पहिचान गर्न तथा बिक्री उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।
उनले प्रविधिले उत्कृष्ट बिक्रीकर्मीलाई पूर्ण रूपमा विस्थापित गर्न नसक्ने धारणा राखे । ‘प्रविधि महत्त्वपूर्ण उपकरण हो, तर विश्वास, मानवीय सम्बन्ध, सहानुभूति र प्रभावकारी संवादको विकल्प प्रविधि मात्र हुन सक्दैन,’ उनले भने ।
नेपालको आर्थिक रूपान्तरणमा दक्ष र सक्षम बिक्री तथा व्यावसायिक जनशक्तिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अग्रवालले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा, खुद्रा व्यापार तथा सिर्जनात्मक उद्योगमा नेपालको ठुलो सम्भावना रहेको बताए ।