सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदबाट हटाउने निर्णयप्रति उनको पार्टी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले असन्तुष्टि जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गरेर देउवालाई पदमुक्त गर्ने निर्णयप्रति दलको गम्भीर ध्यानाकर्षण भएको बताए।
निवर्तमान मुख्यमन्त्रीसमेत रहेका शाहले सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। मुख्यमन्त्री खगराज भट्टको प्रदेश सभाबाट विश्वासको मत लिने अघिल्लो दिन देउवालाई हटाउनुको नियतमाथि समेत उनले प्रश्न उठाए।
‘संवैधानिक र कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने कुरामा हाम्रो कुनै विमति छैन,’ देउवालाई कारबाही गरिएको सन्दर्भमा शाहले भने, ‘तर, नयाँ मुख्यमन्त्रीले आज सदनको विश्वास लिनुपर्ने कार्यक्रम तय भइसकेपछि हिजोको कार्यव्यवस्था परामर्श समितिमा समेत यसबारे कुनै कुरा उठेन। कार्यव्यवस्था समितिमा पनि यो छलफलको विषय बन्नुपर्थ्याे। एक्कासि सूचनामार्फत कारबाहीको विषय बाहिर आउँदा नियममाथि शंका हो।’
सभामुखको निर्णयलाई आफूले जायज अथवा नाजायज नभन्ने, तर कुनै पनि प्रदेश सभा सदस्यलाई हटाउँदै गर्दा प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि एकचोटि उसलाई सोधिनुपर्ने उनको भनाइ थियो। शाहले देउवालाई पदमुक्त गरिएको सन्दर्भमा सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए । दलको अंकगणितलाई हेरेर सभामुखले निर्णय गर्न नहुने उनले बताए।
‘माननीय प्रकाश देउवालाई एक्कासि बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो यसका पछाडिको नियत के हो ? यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ,’ शाहले भने, ‘यो जायज हो अथवा नाजायज हो हामी भन्दैनौँ, तर एउटा कुरा हामी प्रस्टसँग के भन्छौँ भने कुनै पनि प्रदेश सभा सदस्यलाई हटाउँदै गर्दा प्राकृतिक न्यायको सिद्धान्तले पनि एकचोटि उसलाई सोध्नुपर्छ ।’
एउटा निर्वाचित जनप्रतिनिधि लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर बस्नु राम्रो नभएकोसमेत उनले बताए । ‘उहाँ किन उपस्थित हुनुभएन, किन जानुभयो यी विषयमा प्रदेश सभा र सभामुखलाई उहाँले जानकारी दिने विषय हो,’ शाहले भने, ‘एउटा निर्वाचित जनप्रतिनिधि लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर बस्नु कदापि राम्रो हुँदैन ।’
देउवा ११ महिनादेखि अमेरिकामा छन् । उनी गत वर्ष भएको जेन–जी आन्दोलनलगत्तै अमेरिका गएका थिए। लामो समयदेखि विनाजानकारी प्रदेश सभा बैठकमा अनुपस्थित रहेपछि सभामुख भण्डारीले मंगलबार देउवालाई पदबाट हटाउने निर्णय गरेका हुन्। देउवा कांग्रेसबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए ।
कांग्रेसका निवर्तमान सभापछि शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाश केही समय सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पनि बनेका थिए । उनी गत वर्षको १५ साउनमा बसेको प्रदेश सभा बैठकमा उपस्थित भएका थिए । प्रदेश सभा सचिवालयका अनुसार त्यसपछिका बैठकमा भने उनी अनुपस्थित थिए ।