नगर विकास कोषको सञ्चालक समिति सदस्यमा बोदेबरसाइनका मेयर सिंह मनोनीत

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

सप्तरीको बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनीत भएका छन्।

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २(छ) बमोजिम गत साउन २५ गते पूर्वाधार विकासमन्त्रीस्तरीय निर्णयबाट सिंहलाई सञ्चालक समिति सदस्यमा मनोनीत गरिएको हो।

नगर विकास कोषले देशभरका स्थानीय तहमा सहरी पूर्वाधार निर्माण, खानेपानी, ढल निकासलगायत सामाजिक तथा आर्थिक पूर्वाधार विकासका आयोजनामा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ।

सिंह बोदेबरसाइन नगरपालिकाको नगरप्रमुखमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनी जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।

०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका सिंह बोदेबरसाइनको नगरप्रमुखमा निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि जनता समाजवादी पार्टीबाट पुनः उम्मेदवार बनेका उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन्।

सुझावित समाचार