बैंकको कर्मचारी हौँ भनेर नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई ठगी गर्ने गिरोहका चारजनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका– ४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका– १६ बस्ने २२ वर्षीय जयकुमार केवट र रामग्राम–१७ बस्ने २२ वर्षकै विद्यासागर केवट तथा पर्साको वीरगन्ज महानगरपालिका– ३ बस्ने २७ वर्षीय कुवेर थापा रहेका छन्।
उनीहरूले बैंकबाट बोलेको भन्दै फोन तथा ह्वाट्सएपमार्फत केवाइसी अपडेटको नाममा स्क्रिन सेयर गर्न लगाएर ओटिपी कोड प्रयोग गरी खातामा अनधिकृत पहुँच पुर्याई ठगी गरेका प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको ‘अनधिकृत पहुँच र विद्युतीय माध्यमसम्बन्धी ठगी’ कसुर मुद्दामा पाँच दिनको म्याद थप भएको छ।